• २०८३ आश्विन १ | Thu, 17 Sep 2026

  • चिनियाँ राष्ट्रपति सी चिनफिङ ब्रिक्स सम्मेलनका लागि भारत जाने, सम्बन्ध सुधार र आर्थिक सहकार्यमा जोड

    चिनियाँ राष्ट्रपति सी चिनफिङ ब्रिक्स सम्मेलनका लागि भारत जाने, सम्बन्ध सुधार र आर्थिक सहकार्यमा जोड

    चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आगामी शनिबार र आइतबार भारतको नयाँदिल्ली जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण सात वर्षपछि सीको पहिलो भारत यात्रा हो।

    आगामी भ्रमणलाई एसियाका दुई ठुला शक्तिबिच सम्बन्ध सुधार र स्थायित्वका लागि भइरहेको प्रयासका रूपमा हेरिएको छ। भारतीय सञ्चारमाध्यम तथा कूटनीतिक विज्ञहरूले यसलाई द्विपक्षीय तनाव कम गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।

    सीमा विवादका कारण केही वर्षयता चीन र भारतबिच तनाव रहे पनि पछिल्लो समय सम्बन्ध सुधारका सकारात्मक संकेतहरू देखिएका छन्। हालै बेइजिङमा सम्पन्न सीमा मामिलासम्बन्धी २५औँ चरणको वार्तामा आठबुँदे सहमति भएको थियो। सम्मेलनका क्रममा सी र मोदीबिच द्विपक्षीय वार्ता हुने अपेक्षा गरिएको छ।

    आर्थिक दृष्टिले चीनसँग उत्पादन र ‘हार्डवेयर’ क्षमता बलियो छ भने भारतसँग ‘सफ्टवेयर’ र ठुलो युवा जनशक्ति छ। राजनीतिक विवादका बाबजुद आर्थिक वर्ष २०२५/२६ मा दुई देशबिचको व्यापार करिब १५१ अर्ब अमेरिकी डलर पुगेको छ, जसले चीनलाई भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार बनाएको छ। भारत–चीन सहकार्यले क्षेत्रीय स्थायित्व मात्र नभई भारतलाई कूटनीतिक सन्तुलन कायम राख्नसमेत मद्दत पुर्‍याउने विश्लेषण छ।

    भारतको अध्यक्षतामा नयाँदिल्लीस्थित ‘भारत मण्डपम’मा आयोजना भइरहेको सम्मेलनको मूल विषय ‘उत्थानशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपन’ रहेको छ। सम्मेलनमा स्थानीय मुद्रामा कारोबार, सीमापार डिजिटल भुक्तानी, बहुपक्षीय वित्तीय संस्थामा विकासशील देशको प्रतिनिधित्व, स्वच्छ ऊर्जा, हरित वित्त, खाद्य सुरक्षा र कृत्रिम बुद्धिमत्ता (AI) को नियमन मुख्य एजेन्डा रहेका छन्। विस्तारित ब्रिक्समा चीन र भारतको सहकार्यले ‘ग्लोबल साउथ’का विकासशील मुलुकहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २६, शुक्रबार १०:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP