काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मुलुकको वास्तविक समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साम्पाङले मुलुकको विद्यमान समस्यालाई खुट्टाको घाउसँग तुलना गर्दै सरकारको बजेटले घाउको उपचार गर्नुको साटो नयाँ जुत्ता किन्न जोड दिएको टिप्पणी गर्नुभयो।
छलफलका क्रममा साम्पाङले बजेट निर्माण गर्दा देशको मुख्य समस्या र विकासको आवश्यकतालाई गम्भीरतापूर्वक बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो। “समस्या भनेको खुट्टामा भएको घाउ हो र विकास भनेको खुट्टामा लगाउने नयाँ जुत्ता हो,” उहाँले भन्नुभयो, “हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर? खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर?”
अध्यक्ष साम्पाङले पेट्रोलियम पदार्थको मूल्य नेपालमा विश्वकै महँगो हुँदा समेत त्यसलाई घटाउने विषयमा बजेट मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। सर्वसाधारणलाई दैनिक रूपमा आवश्यक पर्ने उपभोग्य सेवा, सुविधा र सामग्रीको मूल्य यसरी अचाक्ली बढाएर राम्रो बजेट बन्न नसक्ने उहाँको तर्क थियो।
बजेट वक्तव्यमा सरकारले सय वटा घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने भन्ने जस्ता कार्यक्रम समावेश गर्नु आपत्तिजनक रहेको साम्पाङले बताउनुभयो। सरकार कुनै व्यापारी नभएर जनतालाई सेवा र सुविधा दिने अभिभावकीय निकाय भएकाले बजेटमार्फत व्यापारिक प्रकृतिका काम अघि सार्नु गलत भएको उहाँको भनाइ थियो।
प्रतिक्रिया