काठमाडौँ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्ने तोकिएको समयसीमा आज जेठ २८ गते राति १२ बजे समाप्त हुँदै छ। पार्टीको सदस्यता व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको यो अभियानको समयसीमा आज मध्यरातिपछि सकिने भएकाले नेतृत्वले छुटेका सबै सदस्यहरूलाई तत्काल प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले समयसीमा समाप्त हुन लागेकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अद्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यहरूलाई अपिल गर्नुभएको छ। अन्तिम आवरमा एकैपटक धेरैले फाराम भर्दा प्रणालीमा प्राविधिक समस्या आउन सक्ने तर्फ सचेत गराउँदै उहाँले कांग्रेसको वेबसाइटमार्फत हरेक सदस्यले आफ्नै मोबाइलबाट सहज रूपमा सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। महामन्त्री पौडेलले प्रविधिको प्रक्रिया थाहा नभएमा वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अद्यावधिक गर्न अनुरोध गर्नुभएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन्। यसका साथै थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी प्रक्रियामा सहभागी भइसकेका छन्। पार्टीका कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे तापनि क्रियाशील सदस्यता अद्यावधिक अभियान गाउँगाउँसम्म उत्साहजनक रूपमा अघि बढिरहेको केन्द्रीय कार्यालयले जनाएको छ।
विगतमा अरूले फाराम भरिदिँदा देखिने ‘फर्जी संख्या’ को अन्त्य गर्दै यसपटक वास्तविक सदस्यता विवरण तयार गर्न लागिएको नेताहरूले बताएका छन्। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विगतमा नेताहरूले अरूको नाममा आफैँ फाराम भरिदिँदा देखिने संख्याभन्दा अहिले कार्यकर्ता आफैं सचेत भएर अनलाइन फाराम भर्दा संख्या केही कम देखिनु नितान्त स्वाभाविक र यथार्थ भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार तोकिएको समयसीमाभित्र आफ्नो सदस्यता अनलाइन प्रणालीमा दर्ता गराउने क्रियाशील सदस्य मात्रै आगामी १५औँ महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन् र समय घर्किसकेपछि केन्द्रीय कार्यालयमा नाराबाजी गरेर पनि कुनै सुनुवाइ हुनेछैन।
विगतमा सदस्यको नामबाहेक अन्य विवरण व्यवस्थित रूपमा अभिलेखीकरण नहुने अवस्थाको अन्त्य गर्दै डिजिटल प्रणालीमार्फत सदस्यहरूको आधारभूत विवरण व्यवस्थित गर्न लागिएको कांग्रेसले जनाएको छ। केन्द्रीय सदस्य शिवाकोटीले कांग्रेसलाई प्रविधिमैत्री बनाएर १५औँ महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने अभियान अत्यन्त उत्साहजनक रूपमा आज सकिन लागेकाले आज राति १२ बजेसम्म आफ्नो क्रियाशील सदस्यता अनिवार्य रूपमा अद्यावधिक गर्नु नै हरेक इमानदार सिपाहीको बुद्धिमानी हुने बताउनुभयो।
प्रतिक्रिया