• २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026

  • भन्सार दर हेरफेर र पाना गायब भएको समाचार भ्रामक र अतिरञ्जित: अर्थमन्त्री डा. वाग्ले

    भन्सार दर हेरफेर र पाना गायब भएको समाचार भ्रामक र अतिरञ्जित: अर्थमन्त्री डा. वाग्ले

    काठमाडौँ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको दाबी गरेका छन्। बुधबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै पनि नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको आरोप लगाए। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले गत वर्ष नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक थप स्पष्ट पारिएको जिकिर गरे। विशेष गरी रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको भन्दै उनले यो विशुद्ध मानवीय र प्राविधिक विषय भएको स्पष्ट पारे। अन्य कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जन गरिएको उनको दाबी थियो।

    सञ्चारमाध्यममा आएका समाचारहरूले आम जनता र सांसदहरूमा समेत भ्रम सिर्जना गरेको उल्लेख गर्दै उनले अर्थ मन्त्रालयमा बसेर गोप्य रूपमा दरहरू चलाएको भन्ने आरोपको पूर्ण रूपमा खण्डन गरे। हप्ताभरि पत्रिकाहरूले यस विषयलाई उचालेर संशय पैदा गरेको भन्दै उनले ४५७ पानाको डकुमेन्टमा १ मिलिमिटर मात्रै कोलम तन्काइदियो भने पानाको संख्या बढेर ५०० पुग्न सक्ने वा घटाउँदा घट्न सक्ने प्राविधिक यथार्थ बुझाए। प्रतिवेदनबाट १६ पाना गायब भएको भन्ने आरोपका सम्बन्धमा माइक्रोसफ्ट वर्डको प्राविधिक पक्षबारे स्पष्ट पार्दै उनले कन्टेन्टमा एउटा थोप्लो, कमा वा पूर्णविराम पनि परिवर्तन नभएको दाबी गरे। सार्वभौम संसदमा विधेयक पेस गरिसकेपछि त्यसमा कुनै पनि अनधिकृत परिवर्तन नगरिएको भन्दै उनले आम जनतालाई केही समय भ्रमित पार्न सकिए पनि सत्य नलुक्ने बताए।

    यो विवादलाई ‘चियाको कपमा तुफान’ ल्याउने प्रयासको संज्ञा दिँदै मन्त्री वाग्लेले आफू यसको डटेर सामना गर्न तयार रहेको घोषणा गरे। राष्ट्रहित र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर गरिएका कामलाई गलत अर्थमा नलिन आग्रह गर्दै उनले कुनै पनि विषयमा थप शङ्का भएमा आफू त्यसलाई स्पष्ट पार्न सदैव तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे।



    radiomirmire radiomirmire    
  • २०८३ जेष्ठ २७, बुधबार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP