नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले पार्टीमा समानन्तर गतिविधि अगाडि बढाएको छ। विशेष र नियमित महाधिवेशनको पक्षमा विभाजित कांग्रेस नेताहरूको राजनीतिक गतिविधि पनि भिन्नाभिन्नै ढंगले अगाडि बढेको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालाको उपस्थितिमा आज नवनिर्वाचित सांसदका लागि बधाई कार्यक्रम राखिएको छ। सोमबार दिउँसो १ बजे महाराजगञ्जको स्मार्ट होटलमा कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई देउवा– कोइराला पक्षले बधाई कार्यक्रम राखेको हो।
पार्टीका वरिष्ठ नेताहरूले नव निर्वाचित सांसदलाई बधाई दिनका लागि कार्यक्रम आयोजना गरिएको सांसद निस्कल राईले बताए।
‘वरिष्ठ नेताहरूले बधाई कार्यक्रम राख्नु भएको छ। आज दिउँसो १ बजे महाराजगञ्जको होटल स्मार्टमा हामी जान्छौँ,’ राईले नेपालखबरसँग भने।
कांग्रेस सांसद गीता गुरुङले पनि बधाई कार्यक्रममा खड्का र कोइराला उपस्थिति हुने बताइन्। उनले भनिन्, ‘पूर्णबहादुर खड्का र शेखर कोइराला दाइले संयुक्त रुपमा नवनिर्वाचित सांसदलाई बधाई कार्यक्रम राख्नु भएको खबर आएको छ। हामी सहभागी हुन्छौं।’
गत शनिबार कांग्रेसले पार्टी कार्यालय सानेपामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम आयोजना गरेर अभीमुखीकरण तालिम दिएको थियो। सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल, गुरुराज घिमिरेले कांग्रेसका नवनिर्वाचित सांसदलाई बधाईका साथै अभीमुखीकरण तालिम दिएका थिए।
त्यसलाई काउन्टर हुने गरी खड्का र कोइराला पक्षले आज बधाई कार्यक्रम राखेको हो। सोही होटलमा देउवा–कोइराला समूहले मंगलबार दिउँसो १ बजे १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक पनि बोलाएको छ। बैठकमा पछिल्लो राजनीतिक, सरकारको धरपकड र चुनावी परिणामको समीक्षा हुने राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले नेपालखबरलाई जानकारी दिए।
‘प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी छ,’ उनले भने, ‘पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट फैसला नआएसम्म एक ढंगले गतिविधि अगाडि बढाउने भन्ने कुरा भएको छ।’
गत शनिबार बिहान एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए। ‘कार्यवाहक सभापति’का रूपमा खड्काले विज्ञप्ति जारी गरेको विषयलाई कांग्रेसको संस्थापन पक्षले पार्टीको मर्यादा र अनुशासन उल्लंघनको रूपमा लिएको छ।
गत पुस मसान्तमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भएपछि कांग्रेस दुई खेमामा विभाजित भएको छ। विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गरी थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यस रिटमा चैत २२ गते सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा थापाको नेतृत्व स्वीकारेको देउवा– कोइराला समूहले अहिले समान्तर गतिविधि अगाडि बढाएको संस्थापन पक्षको आरोप छ। देउवा– कोइराला समूहका नेता पनि गगन थापाले हस्तक्षर गरेकाे टिकटमा चुनाव लडेका थिए।
देउवा र शेखर कोइराला समूहले केही दिनअघि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यासम्पादन समितिको नाममा बैठक गरेको थियो। कार्यवाहक सभापतिको नाममा खड्काले गतिविधि अगाडि बढाएपछि कांग्रेसको संस्थापन पक्ष कारबाही गर्ने तयारीमा देखिन्छ।
कांग्रेसले चैत १८ गते अनुशासन समितिको जरुरी बैठक बोलाएको छ। कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले फागुन २१ को निर्वाचनमा भएको अन्तर्घात र समानन्तर गतिविधिबारे छलफल गर्न बैठक बोलाइएको नेपालखबारलाई बताए।
‘हामी नियमित छलफल गरिरहेकै छौँ। सबै गतिविधि हाम्रो नोटिसमा छ। १८ गते औपचारिक बैठक बसेर निर्वाचनमा अन्तर्घात गर्ने र अहिले पार्टीको विधान र विधिभन्दा बाहिर रहेको पगरी जिम्मा लिएको विषयमा छलफल हुन्छ,’ गुरुङले भने, ‘विधि–विधानको परिधिमा नबस्नेहरूकाबारेमा एउटा निर्णय त अनुशासन समितिले लिन्छ नै।’
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले समानान्तर गतिविधि गरे पार्टी विधि र विधानअनुसार अगाडि बढ्ने बताए।
‘समूहगत वा वैचारिक भेला गर्ने एउटा विषय हो। कार्यवाहक सभापति हुँ भन्दै संवैधानिक निकायको निर्णय र पार्टीको विधि विधानभन्दा बाहिर जाने कुरा स्वीकार्य हुँदैन,’उनले भने, ‘सिनियर नेताहरूलाई हामीले पार्टी विधि र विधान सम्झाउने कुरा विडम्बना हो।’
कांग्रेसभित्र रहने भए सबै नेता–कार्यकर्ताले पार्टी विधि विधान मान्नै पर्ने उनको भनाइ छ।
‘हामीलाई अनुशासन र विधिविधानको कुरा सिकाएको उहाँहरूले नै हो। अनि उहाँहरूले चाहीँ पार्टीको विधि विधान मान्नुपर्दैन?,’ उनको प्रश्न छ, ‘उहाँहरू विधि विधानभन्दा माथि हुनुहुन्न। कांग्रेसभित्र रहने भए पार्टी विधि विधान मान्नै पर्छ।’
देउवा– कोइराला पक्षले भने संस्थापन पक्षको कारबाहीको धम्कीलाई चुनौती दिएको छ। १४ औं महाधिवेशनबाट केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला यही चैत १९ गते बोलाउने देउवा– कोइराला पक्षको तयारी छ।
त्यतिबेला विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका ४७ जिल्ला सभापति, ५ प्रदेश सभापति उभिएका थिए। पछिल्लो समय देउवा पक्षका कोसी प्रदेश सभापति उद्धव थापा, मधेस प्रदेश सभापति कृष्ण यादव र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ गगन थापाको नेतृत्व स्वीकारेर केन्द्रीय कार्यसमिति बैठकमा उपस्थिति भइरहेका छन्।
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कर्णाली प्रदेश सभापति ललितजंग शाही भने थापाको सभापतित्वमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका छैनन्।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन भने विशेष महाधिवेशनकै पक्षमा उभिएका थिए। १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति, प्रदेश सभापति र जिल्ला सभापतिमा देउवा–कोइराला पक्षको बहुमत छ।
देउवा–कोइराला पक्षले बोलाउने भेलामा कुन संख्यामा उपस्थिति रहन्छ यकिन छैन। देउवा– कोइराला पक्षका नेताहरूले भने विशेष महाधिवेशनको विपक्षमा देखिएका सबै भेलामा सहभागी हुने दाबी गरेका छन्।
प्रतिक्रिया