• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • कर्णाली अपडेट: अहिलेसम्म १६८ जनाले गरे मतदान

    कर्णाली अपडेट: अहिलेसम्म १६८ जनाले गरे मतदान

    राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा पनि आज बिहान ९ बजेदेखि मतदान जारी छ।

    निर्वाचन कार्यालयका अनुसार बिहान ११ बजेसम्म १६८ जनाले मतदान गरिसकेका छन्।

    जसमा प्रदेशसभा सदस्यतर्फ : महिला १३ र पुरुष २५ गरी जम्मा ३८ र स्थानीय तहतर्फ महिला ४९ र पुरुष ८१ जम्मा १३० जनाले मतदान गरिसकेका हुन्।

    कर्णालीबाट २ जना राष्ट्रियसभा सदस्य चुनिँदै छन्।

    त्यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा छ।

    उनीहरूका २/२ उम्मेदवार गरी २ सिटका लागि ४ जना प्रतिस्पर्धामा छन्।

    कांग्रेस-एमाले गठबन्धनबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही र एमाले केन्द्रीय सदस्य मिनासिंह रखाल उम्मदेवार छन् भने नेकपाबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाही प्रतिस्पर्धामा छन्।

    कर्णाली प्रदेशमा महिलातर्फ सुर्खेतकी सुमित्रा बीसी र अन्यतर्फ जाजरकोटका मायाप्रसाद शर्माको पदावधि फागुनमा सकिँदैछ। बीसी एमाले र शर्मा तत्कालीन माओवादी केन्द्रको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए।

    यस्तो छ अंकगाणित

    कर्णालीमा प्रदेशसभा सदस्य र पालिका प्रतिनिधिको मतभारमा कांग्रेस–एमालेको बहुमत छ। यी दुई दलको कुल मतभार ३ हजार ५८ छ।

    कर्णालीमा मतभारमा कांग्रेस सबैभन्दा अगाडि छ भने दोस्रो नेकपा र तेस्रो एमाले छन्।

    राष्ट्रिसभा सदस्य निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ।

    जसअनुसार कर्णालीमा नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभा सदस्यको कुल मतभार ५ हजार १२२ छ।

    कर्णालीमा कांग्रेससँग प्रदेशसभातर्फ १५ सांसद र ५९ पालिका प्रतिनिधि गरी कुल १ हजार ९११ मतभार छ।

    यस्तै तत्कालीन माओवादी केन्द्रका १३ प्रदेशसभा सदस्य र ४८ पालिका प्रतिनिधि गरी कुल १ हजार ६०१ मतभार छ।

    तत्कालीन एकीकृत समाजवादीको एक प्रदेशसभा सदस्यको ५३ मतभार र १० पालिका प्रतिनिधि गरेर जम्मा २४३ मतभार छ।

    यसो हुँदा नेकपासँग कुल १ हजार ८४४ मतभार हुन्छ।

    यस्तै एमालेसँग १० प्रदेशसभा सदस्य र ३५ पालिका प्रतिनिधि गरी १ हजार १९५ मतभार छ। राप्रपाको १ प्रदेश सांसदको ५३ र ६ पालिका गरेर एक सय ६७ मतभार छ।

    मतभार हेर्दा नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित देखिन्छ।

    आउने फागुनमा राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै छ। तीमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।

    बाँकी १८ सदस्यमा पनि एक जना (कोसी प्रदेशमा खस आर्यतर्फ सुनिलबहादुर थापा) निर्विरोध निर्वाचित भइसकेकाले आज १७ सदस्यका लागि निर्वाचन भइरहेको हो।

    मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ माघ ११, आईतवार ०६:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP