काठमाडौँ। अमेरिकामा मध्यावधि चुनावको मतगणना जारी रहेको छ। यस निर्वाचनमार्फत अमेरिकी कंग्रेस (संसद्) को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’का सबै ४३५ सिट, माथिल्लो सदन ‘सिनेट’का ३५ सिट र ३६ राज्यका गभर्नर पदका लागि मतदान भएको हो।
राष्ट्रपति चुनाव भएको ठिक दुई वर्षपछि अमेरिकामा मध्यावधि चुनाव हुने गर्दछ। अमेरिकी न्याय विभाग (DOJ) का अनुसार देशको इतिहासमै पहिलोपटक ५० वटै राज्यमा स्वतन्त्र र निष्पक्ष चुनाव सुनिश्चित गर्न करिब एक हजार चुनाव अनुगमनकर्ता तथा पर्यवेक्षकहरू खटाइएको छ।
सीबीएस न्युज (CBS News) ले जारी गरेको प्रारम्भिक मूल्यांकन अनुसार गभर्नर पदको प्रतिस्पर्धामा डेमोक्र्याटिक पार्टीले धेरै राज्यहरूमा अग्रता बनाएको छ:
डेमोक्र्याटिक पार्टी बलियो स्थितिमा रहेका राज्यहरू: एरिजोना, आयोवा, मिसिगन, मिनेसोटा र न्यु मेक्सिको।
कडा र नजिकको प्रतिस्पर्धा भइरहेका राज्यहरू: कान्सास, नेब्रास्का, टेक्सास र विस्कन्सिन।
रिपब्लिकन पार्टीले जित्ने सम्भावना रहेको राज्य: दक्षिण डकोटा।
हाल अमेरिकी संसद्का दुवै सदनमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ। यदि रिपब्लिकनले कुनै एक सदनमा मात्र पनि बहुमत गुमाएमा ट्रम्प प्रशासनलाई आफ्ना नीति तथा कानुन पारित गराउन कठिन हुनेछ। अर्कोतर्फ, डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गरेमा ट्रम्पका योजनाहरू रोक्न सहज हुने देखिन्छ।
कुल सिट: १०० (बहुमतका लागि ५१ सिट आवश्यक)
वर्तमान स्थिति: रिपब्लिकन ५३ र डेमोक्र्याट (स्वतन्त्रसहित) ४७ सिट।
यसपटकको चुनाव: ३५ सिटका लागि मतदान (२२ रिपब्लिकन र १३ डेमोक्र्याटका सिट)।
समीकरण: डेमोक्र्याटिक पार्टीलाई बहुमत पुर्याउन थप कम्तीमा ४ सिट जित्नुपर्ने हुन्छ। यदि दुवै दलको ५०-५० सिट बराबर भएमा उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिने अधिकार राख्छन्।
कुल सिट: ४३५ (बहुमतका लागि २१८ सिट आवश्यक)
समीकरण: यसपटक तल्लो सदनका सबै ४३५ सिटमै चुनाव भइरहेको छ। २१८ वा सोभन्दा बढी सिट जित्ने दलले तल्लो सदनको साँचो हात पार्नेछ।
अमेरिकी समय अनुसार साँझ ६ बजेपछि (नेपाली समय अनुसार बुधबार बिहान साढे ४ बजेदेखि) प्रारम्भिक नतिजाहरू आउन सुरु भइसकेका छन्। दुवै मुख्य दलहरू संसद्मा आफ्नो वर्चस्व कायम गर्ने वा फर्काउने अन्तिम कसरतमा छन्।
प्रतिक्रिया