काठमाडौँ, १८ कार्तिक २०८३
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पदमुक्त नभई जिम्मेवारी मात्र फेरबदल गरिएको सरकारले स्पष्ट पारेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदमन्त्री सस्मित पोखरेलले कार्कीलाई कारबाही नगरिएको दाबी गरेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यससँगै रिक्त रहेको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई पदोन्नति गरी नियुक्त गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकारका प्रवक्ता पोखरेलले भने, “उहाँलाई कुनै कारबाही गरिएको होइन, राज्यको आवश्यकता अनुसार जिम्मेवारी हेरफेर मात्र गरिएको हो।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित विभिन्न तर्फबाट आएका निर्देशन र सुझावका आधारमा यो कदम चालिएको पोखरेलले बताए। “धेरै क्षेत्र र पार्टीभित्रैबाट संवेदनशील विषयहरूमा सरकारले ठोस कदम चाल्नुपर्छ भन्ने निर्देशन तथा सुझाव आएको थियो,” मन्त्री पोखरेलले भने, “प्रधानमन्त्रीलाई शान्ति सुरक्षा सम्बन्धी परामर्श दिने सुरक्षा सल्लाहकारको भूमिका आफैँमा अत्यन्त संवेदनशील भएकाले उहाँलाई यो नयाँ जिम्मेवारी दिइएको हो।”
प्रतिक्रिया