काठमाडौँ, १७ कात्तिक — पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।
सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरेको आरोप उनीहरूमाथि लगाइएको छ। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।
माधवकुमार नेपाल प्रधानमन्त्री छँदा मन्त्रिपरिषद् बैठकले नै हदबन्दीभन्दा धेरै जग्गा बिक्री गर्न अनुमति दिएको अख्तियारको ठहर छ। उक्त समयमा मन्त्रिपरिषद्ले ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिई बिक्री वितरणको बाटो खोलिदिएको आयोगको दाबी छ।
प्रतिक्रिया