नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘विशेष सुरक्षा सल्लाहकार’ को नियुक्ति पत्र बुझ्न अस्वीकार गरेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर नेपाल सरकारको ‘सचिव सरह’ को सेवा-सुविधा पाउने गरी प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो। तर, उनले उक्त पद र सुविधालाई अस्वीकार गर्दै पत्र नलिएको मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
सरकारले कार्कीलाई हटाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरिसकेको छ। डा. केसीले दर्ज्यानी चिन्ह लगाएर पदभारसमेत सम्हालिसकेका छन्।
आफ्नो पदावधि बाँकी छँदै सरकारले गैरकानुनी र पूर्वाग्रहपूर्ण तरिकाले बर्खास्त गरेको भन्दै कार्कीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। न्यायिक लडाइँमा जाने तयारीमा रहेकाले नै उनले सरकारले दिएको नयाँ जिम्मेवारीको पत्र नबुझेको उनीनिकट स्रोतको भनाइ छ।
प्रतिक्रिया