• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • ढल्केबर ट्रमा सेन्टर विवादले मधेसको शान्ति-सुरक्षा बिग्रन सक्ने सांसद यादवको चेतावनी

    ढल्केबर ट्रमा सेन्टर विवादले मधेसको शान्ति-सुरक्षा बिग्रन सक्ने सांसद यादवको चेतावनी

    काठमाडौँ—नेपाली कांग्रेसका सांसद प्रा. डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरस्थित प्रस्तावित ट्रमा सेन्टर निर्माणको विषयलाई लिएर उत्पन्न विवादले मधेस प्रदेशको अमनचयन र वातावरण बिग्रन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

    सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद यादवले ढल्केबर ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्योलता र ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो। यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको र सभामुखबाट सरकारलाई सदनमा स्पष्ट धारणा राख्न निर्देशन भइसकेको स्मरण गराउँदै उहाँले हालसम्म यो विषय सदनको कार्यसूचीमा नपरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो।

    ढल्केबर ट्रमा सेन्टरका लागि आवश्यक सबै पूर्वतयारी पूरा भइसकेको अवस्थामा पनि सरकारले ढिलासुस्ती गर्दा विभिन्न शंका-उपशंका उब्जिएको सांसद यादवको भनाइ छ। ढल्केबजारमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै स्थानीय बासिन्दा लगातार आन्दोलित बनिरहेका छन्।

    विकास निर्माणसँग जोडिएको यस संवेदनशील विषयलाई लिएर पुनः आन्दोलन चर्किएमा त्यसले स्थानीय स्तरमा शान्ति सुरक्षामा समेत असर पार्न सक्ने चेतावनी उहाँले दिनुभयो। ‘अहिलेको संवेदनशील अवस्थामा विकास निर्माणका विषयलाई लिएर पुनः आन्दोलन चर्कियो भने अमनचयनको वातावरण बिग्रन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले सरकारले यस विषयमा बेलैमा आफ्नो धारणा स्पष्ट पार्नुपर्छ।’

    समितिका सभापतिमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई सार्थक पहलका लागि आग्रह गर्दै सांसद यादवले ट्रमा सेन्टर निर्माणमा कसको इसारामा र किन अवरोध सिर्जना भएको हो भन्नेबारे सरकारले देशलाई स्पष्ट पार्नुपर्ने माग गर्नुभयो।

    समिति बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल चलिरहँदा सांसद यादवले ढल्केबर ट्रमा सेन्टर विवादबारे आफ्नो धारणा राख्नुभएको हो।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण २५, सोमबार ०९:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP