काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई अदालत जान खुला चुनौती दिएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले आफूले प्रहरी प्रशासनभित्रका थुप्रै अनियमितताबारे उठाएका विषयहरूमा पूर्ण रूपमा अडिग रहेको स्पष्ट पारे।
यसअघि लेखा समितिको बैठकमा सांसद सुनारले आईजीपी कार्कीविरुद्ध परेका उजुरीमाथि गहन छानबिन हुनुपर्ने माग राखेका थिए। उक्त अभिव्यक्तिपछि आईजीपी कार्कीले गृहमन्त्री सुधन गुरुङ र सभामुख डोलप्रसाद अर्याललाई भेटेको विषयप्रति लक्षित गर्दै उनले आफ्ना प्रश्नहरूबाट पछि नहट्ने दोहोर्याए।
बैठकमा बोल्दै सांसद सुनारले १५ दिनभित्र प्रहरीको स्रोत-साधन तथा पोशाक खरिदमा भएका बदमासीसम्बन्धी कागजात समितिमा पेस गर्न निर्देशन दिइए पनि त्यो नआएकोमा गम्भीर आपत्ति जनाए। छानबिन हुनुपर्ने कागजात रोकेर उल्टै प्रहरी मुख्यालयले फेरि करोडौँको नयाँ टेन्डर आह्वान गरेको भन्दै उनले निश्चित बिचौलियाहरूको कब्जामा प्रहरी हेडक्वार्टर परेको गम्भीर आरोप लगाए।
“अस्ति सोधेको प्रश्नमा म आज पनि उत्तिकै अडिग र मजबुत छु, मैले कसैको मानमर्दन गरेको छैन,” सांसद सुनारले भने, “यदि कहीँ कतै कोही साथीहरूलाई मेरो भनाइले मानमर्दन भयो भन्ने लाग्छ भने उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। म कठघरामा उभिएर जवाफ दिन तयार छु।”
संसदीय समितिको मर्यादा र सार्वभौमिकताबारे बोल्दै सांसद सुनारले मिडिया वा शक्ति प्रदर्शनका भरमा समितिलाई पन्छाउन नमिल्ने बताए। उनले मिडिया र प्रहरी प्रशासनले संसदीय समितिमा आएर टोपी भुईँमा राखी जुहारी खेल्न र सरकारको मानमर्दन गर्न नपाउने टिप्पणी गरे।
प्रतिक्रिया