एमाले अध्यक्ष तथा २१ फागुनको निर्वाचनमा झापा ५ बाट उम्मेदवार बनेका केपी ओली निर्वाचन आचारसंहिताविपरीत कार्यक्रममा सहभागी भएका छन् । र, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको चुनावी प्रचारप्रसारका लागि आइतबार दमक नगरपालिका– २ स्थित हिमालय माध्यमिक विद्यालयमा राजनीतिक कार्यक्रम गरिएको छ ।
अझ रोचक त ‘पूर्वप्रधानमन्त्रीसँग अन्तक्र्रिया’ ब्यानर प्रयोग गरिएको कार्यक्रमका आयोजकमध्येका एक सोही विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठ हुन् । उनी एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका पूर्वअध्यक्ष हुन् । कार्यक्रमको आयोजक पनि नेपाल राष्ट्रिय शिक्षक संगठन हो । कार्यक्रम भएको हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोमनाथ ओली पनि एमाले केन्द्रीय सदस्य हुन् ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (ग) मा ‘कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ उल्लेख छ । तर, ओली विद्यालयपरिसरमै भएको कार्यक्रममा सहभागी भएका छन् । जबकि, निर्वाचन आचारसंहिता, २०८२ को दफा १० (ग) मा ‘विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारीसाधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसार गर्न नहुने’ उल्लेख छ । त्यस्तै, सोही दफाको (छ) मा ‘शिक्षकले राजनीतिक प्रकृतिका कार्यक्रम गर्न वा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन प्रसारप्रसारका सामग्री राख्न, टाँस्न वा प्रचारप्रसार गर्न नपाइने’ व्यवस्था छ ।
हिमालय विद्यालयमा गरिएको कार्यक्रममा भने एमालेनिकट शिक्षकहरूको बाक्लो उपस्थिति थियो । एमालेनिकट झापाका शिक्षकसँगै संगठनका केन्द्रीय अध्यक्ष हंशबहादुर शाही, महासचिव प्रकाश खनाल, पूर्वअध्यक्ष लक्ष्मण शर्मा, झापा अध्यक्ष लम्बोदर पौडेल, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा संगठन झापाका पूर्वअध्यक्ष द्रोण श्रेष्ठ, एमाले नेता देवेन्द्र दाहाल, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य होमबहादुर थापासहित एमाले नेता, कार्यकर्ताको उपस्थिति थियो ।
विद्यालयमा यसरी भेला वा अन्तत्र्रिmया गर्न नपाइने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । ‘सामुदायिक विद्यालयमा राजनीतिक कार्यक्रम गर्न पाइँदैन । यदि कसैले गरेको छ भने जिल्ला निर्वाचन अनुगमन अधिकृतसमक्ष प्रमाणसहित उजुरी दिएमा कारबाही हुन्छ,’ उनले भने, ‘सरकारी मान्छे (शिक्षक) ले पनि राजनीतिक भेलामा जाँदा विवेक पु¥याउनुपर्छ ।’
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले ओलीले आफैँ गरेको प्रतिबद्धता बिर्सिएर विद्यालयमा राजनीतिक कार्यक्रम गरेको बताए । उनका अनुसार विद्यालय क्षेत्रलाई शन्ति क्षेत्र बनाउन ओलीले पहिला नै प्रतिबद्धता जनाएका थिए । ‘निर्वाचन आयोगको भाषामा पनि विद्यालयमा यस्ता कार्यक्रम गर्न पाइँदैन । ओलीले त्यहाँ जबर्जस्ती गरेका हुन् । विद्यालयमा राजनीतिक कुराकानीमा गर्न पाइँदैन । जबर्जस्ती गर्न खोजेजस्तो देखिन्छ,’ उनले भने, ‘बाल अधिकारअन्तर्गत विद्यालय शान्ति क्षेत्र हो भनेर ओलीसहितका नेताले आफैँले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । त्यसमा ओलीले बिर्सेका हुन् वा बेइमानी गरेका हुन् ।’
एमालेनिकट शिक्षक संगठन झापाका अध्यक्ष लम्बोदर पौडेलले राजनीतिक कार्यक्रम नभई शैक्षिक बहस गरिएको दाबी गरे । ‘हामीले विशुद्ध शैक्षिक बहस गरेका हौँ । त्यहाँ १५ वटै पालिकाका प्रतिनिधि थिए । कार्यक्रममा राजनीतिक कुरा गर्नु त वक्ताको विषय भयो,’ उनले भने, ‘हामीले हाम्रा समस्याबारे पूर्वप्रधानमन्त्रीसँग अन्तत्र्रिmया गरेको हो । हाम्रो संगठन वर्गीय संगठन होइन । एमालेनिकट भनेर बाहिर भन्नु अर्कै कुरा हो ।’
हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका पूर्वअध्यक्ष द्रोण श्रेष्ठले भने ओलीलाई विद्यालयको अलपत्र भवन देखाउन बोलाएको बताए । उक्त भवन प्रधानमन्त्री कोषबाट बनाएर अहिले अलपत्र भएकाले देखाउने बोलाएको दाबी गरे । त्यही क्रममा शिक्षकहरूको कार्यक्रममा सहभागी भएको उनको दाबी छ ।
‘हामी उहाँ (ओली)लाई उम्मेदवारको रूपमा मात्र हेर्दैनौँ । उहाँ पूर्वप्रधानमन्त्री पनि हो । राजनीतिक कार्यक्रम होइन, शिक्षकहरूको कार्यक्रम हो,’ श्रेष्ठले भने, ‘उहाँ प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कोषबाट नै बनाएको अलपत्र भवनमा अवलोकन भ्रमण गराएको हो । त्यही क्रममा शिक्षकलाई सम्बोधन गर्नुभएको हो ।’
यद्यपि, ओलीले दमकस्थित हिमालय माध्यमिक विद्यालयका शिक्षकलाई मात्र सम्बोधन गरेका होइनन् । ओली आउने भएपछि १५ वटै स्थानीय तहबाट संगठनका प्रतिनिधि शिक्षकलाई बोलाएको पूर्वनिर्धारित कार्यक्रम हो ।
एमाले निर्वाचन परिचालन समिति झापा ५ का संयोजक देवेन्द्र दाहालले ओली विद्यालय निरीक्षणमा त्यहाँ पुगेको बताए । ‘त्यो कुनै चुनावी कार्यक्रम होइन । विद्यालयले बोलाएर निरीक्षणमा जानुभएको हो,’ उनले भने, ‘शिक्षकको कार्यक्रम रहेछ, भेटघाट गर्नुभएको मात्रै हो ।’
कार्यक्रममा ओलीले दिए जेन–जी आन्दोलनमा बल प्रयोगबारे सफाइ
अन्तर्क्रियामा ओलीले जेन–जी आन्दोलनमा राज्यतर्फबाट बल प्रयोग र त्यसपछि लाग्दै आएका आरोपको सफाइ दिएका छन् । शिक्षकहरूलाई एमालेको प्रशिक्षण दिएका ओलीले जेन–जी आन्दोलनमा आफू दोषी नभएको बताए । ‘नेपालमा अहिले एमालेप्रति वैरभाव गराउने तथा केपी ओलीप्रति वैरभाव गराउने काम भएको छ । अपराधीहरूले मान्छे मर्ने परिस्थिति सिर्जना गरे । र, त्यसलाई बहाना बनाएर देशभर आगलागी गराए ।
अनि केपी ओलीले मान्छे मार्यो भने, एकै दिनमा यति मान्छे मार्यो भने,’ कार्यक्रममा ओलीको भनाइ थियो, ‘जबकि मैले हिंसाको कहिल्यै वकालत गरिनँ । पार्टीलाई शान्तिपूर्ण आन्दोलनबाट यस ठाउँमा ल्याउन मैले नेतृत्वदायी भूमिका खेलेँ । आगलागी काण्डपछि एमाले जुरुक्क उठ्दैन थियो भने जनता अहिलेसम्म पनि त्रासको अवस्थामा हुन्थे ।’ ओलीले यस्तै भ्रम चिर्नका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन स्थापना भएको बताए । साथै ओलीले ‘आफ्नै साथीसँग झुटो नबोल्ने’ भन्दै शिक्षकले गरेको आन्दोलनको आलोचना गरे । नेपाल राष्ट्रिय शिक्षक संगठन त्यतिवेला अभिभावक (पार्टीसँग) सल्लाह नगरी आन्दोलनमा गएको भन्दै ओलीले असन्तुष्ट व्यक्त गरे ।
प्रतिक्रिया