• २०८३ श्रावण ३ | Sun, 19 Jul 2026

  • बीपी कोइरालादेखि प्रधानमन्त्री बालेन शाहसम्म: ‘कालो चस्मा’को राजनीति, फेसन र मनोविज्ञान

    बीपी कोइरालादेखि प्रधानमन्त्री बालेन शाहसम्म: ‘कालो चस्मा’को राजनीति, फेसन र मनोविज्ञान

    चितवन । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राजनीतिक क्रान्तिकारी मात्र नभएर सिद्धहस्त साहित्यकार पनि हुनुहुन्थ्यो। उहाँले आफ्नो चर्चित कृति ‘दोषी चस्मा’मा पात्र केशवराजमार्फत तत्कालीन समाजको चाकडी प्रथा र मानव मनोविज्ञानलाई गज्जबसँग उतार्नुभएको थियो। संयोग नै मान्नुपर्छ, दुईतिहाइ बहुमतसहित २०१६ जेठ १३ गते प्रधानमन्त्री बन्नुभएका बीपी कोइराला र २०८२ चैत १३ गते कार्यभार सम्हाल्नुभएका वर्तमान प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबिच एउटा गज्जबको समानता देखिएको छ— त्यो हो, सिर्जनात्मकता र ‘कालो चस्मा’प्रतिको मोह। बीपी साहित्य सिर्जना गर्थे भने र्‍याप संगीतमा बालेनको रुचि जगजाहेर छ। विभिन्न अनौपचारिक समारोहमा बीपी प्रायः कालो चस्मामा सजिन्थे भने वर्तमान प्रधानमन्त्री बालेनको त कालो चस्मा पहिचान नै बनिसकेको छ।

    प्रधानमन्त्रीको शपथ ग्रहणदेखि लिएर हरेक औपचारिक कार्यक्रम र सचिवालयले सार्वजनिक गर्ने आधिकारिक तस्बिरहरूमा समेत बालेन सधैँ कालो चस्मामै देखिन्छन्। हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री बालेन पत्नी र छोरीसहित पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा सहभागी हुन चितवन ओर्लँदा त्यहाँको टन्टलापुर घाममा उनको कालो चस्मा निकै सुहाएको देखिन्थ्यो। पार्टीका आन्तरिक बैठक र सांसदहरूको प्रशिक्षणमा लामो समय नदेखिएका बालेन चितवन महाधिवेशनमा आएसँगै उनी पार्टीको मूलधारमै छन् भन्ने बलियो राजनीतिक सन्देश प्रवाह भएको छ।

    ऐतिहासिक रूपमा हेर्ने हो भने रंगीन वा कालो चस्माको उत्पत्ति १२औँ शताब्दीको चीनमा भएको मानिन्छ, जहाँ न्यायाधीशहरूले अदालतमा सुनुवाइका क्रममा आफ्नो अनुहारको भाव लुकाउन यसको प्रयोग गर्थे। पछि हिउँको चमकबाट जोगिन र अठारौँ शताब्दीमा जेम्स ऐस्कफले रंगीन लेन्सको आविष्कार गरेपछि यो अभिजात वर्गको शान बन्यो। सन् १९२९ मा स्याम फोस्टरले अमेरिकामा व्यावसायिक रूपमा सनग्लास उत्पादन सुरु गरेपछि यो समुद्र किनारमा घुम्नेहरूको रोजाइमा पर्यो। सन् १९३० को दशकमा उच्च उचाइमा उड्ने पाइलटहरूको सुरक्षाका लागि ‘एभिएटर’ चस्मा बन्यो र पछि हलिउड स्टारहरू अड्री हेपबर्न र जेम्स डिन हुँदै रे-ब्यानको ‘वेफेयरर’ मोडल सार्वजनिक भएपछि यो विश्वभरकै जीवनशैली बन्न पुग्यो।

    वैज्ञानिक र व्यावहारिक दृष्टिकोणले कालो चस्माले आँखालाई हानिकारक किरणहरूबाट जोगाउँछ। विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूले क्यामेराको फ्ल्यास र आफ्नो हेराइको दिशा लुकाउन यसको प्रयोग गर्नु स्वाभाविक मानिन्छ। तर, कुटनीतिक र औपचारिक समारोहहरूमा भने राष्ट्रका विशिष्ट व्यक्तिहरूले कालो चस्मा लगाउनुलाई अन्तर्राष्ट्रिय रूपमा त्यति निको मानिँदैन; किनकि नेताहरूले आँखाकै माध्यमबाट जनता र समकक्षीहरूसँग संवाद गर्नुपर्छ र उनीहरूको अनुहारको भाव स्पष्ट देखिनुपर्छ भन्ने मान्यता राखिन्छ।

    यद्यपि, प्रधानमन्त्री बालेन आफैँ कालो चस्माको सौखिन भएपछि यसको प्रभाव वर्तमान मन्त्रिपरिषद् र रास्वपामा पनि स्पष्ट देखिएको छ। गृहमन्त्री सुधन गुरुङदेखि पर्यटनमन्त्री खड्गराज पौडेलसम्म अचेल कालो चस्मामै ठाँटिएका भेटिन्छन्। रास्वपा सभापति रवि लामिछानेले खुला आँखाले संवाद गरिरहँदा पार्टीका अन्य नेता र कार्यकर्तामा भने ‘कालो चस्मा मोह’ ह्वात्तै बढेको छ। महाधिवेशनका लागि देशैभरबाट चितवन ओर्लिएका झण्डै ५ हजार प्रतिनिधि र शुभेच्छुकहरूको भिडमा कालो चस्माधारीहरूको ठुलो जमात देखिनुले यसलाई पुष्टि गर्छ। अब यो महाधिवेशनले केन्द्रीय कमिटी र पदाधिकारीमा कति जना कालो चस्माधारी नेताहरूलाई निर्वाचित गर्छ, त्यो भने महाधिवेशनको परिणामले नै देखाउनेछ।



    radiomirmire radiomirmire    
  • २०८३ असार ७, आईतवार ०८:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP