काठमाडौँ— प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सीमासम्बन्धी विवादित अभिव्यक्तिको कडा विरोध गर्दै उहाँलाई ‘कालो चस्मा खोलेर हेर्न’ आग्रह गरेका छन्।
बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिनुभएको थियो। सांसद काउचाले प्रधानमन्त्री शाहले हालै सामाजिक सञ्जालमा ‘आफू एक्लै लडिरहेको’ भनी व्यक्त गरेको धारणामाथि टिप्पणी गर्नुभयो।
‘कालो चस्मा खोल्नुस्, तपाईँ एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहलाई लक्षित गर्दै सांसद काउचाले भन्नुभयो, ‘मुलुकको हितमा तपाईँले चाल्ने हरेक सकारात्मक कदममा प्रतिपक्ष तपाईँको साथमा छ।’
सांसद काउचाले सरकारका राम्रा काममा प्रतिपक्षको निरन्तर समर्थन रहने र गलत काममा दह्रो खबरदारी गरिने स्पष्ट पार्नुभयो। सोही क्रममा उहाँले नेपालले पनि भारतको जमिन मिचेको भन्ने प्रधानमन्त्रीको विवादित अभिव्यक्ति तत्काल सच्याउन माग गर्नुभयो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले समेत उक्त अभिव्यक्तिको विरोध गरिरहेको प्रसङ्ग उल्लेख गर्दै सांसद काउचाले गलत कामको विरोध सत्ता पक्षबाट पनि हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री सिङ्गो देश र सबै नेपालीको अभिभावक भएकाले संसदमा उपस्थित भएर यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने उहाँको भनाइ थियो।
प्रतिक्रिया