• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • रोहित पौडेललाई कप्तानीबाट बिदा गर्दै क्यानद्वारा धन्यवाद ज्ञापन, सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त

    रोहित पौडेललाई कप्तानीबाट बिदा गर्दै क्यानद्वारा धन्यवाद ज्ञापन, सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त

    नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई जिम्मेवारीबाट बिदा गर्दै उनको योगदानको उच्च मूल्यांकनसहित धन्यवाद ज्ञापन गरेको छ। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत क्यानले रोहितको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धिहरू सधैँ स्मरणीय रहने जनाएको छ।

    क्यानले रोहितको जोश, समर्पण र दृढ संकल्पको प्रशंसा गर्दै उनको कप्तानकालका पलहरू नेपाली क्रिकेट यात्राको गौरवशाली हिस्साका रूपमा रहने उल्लेख गरेको छ। टोली, देश र खेलकुदप्रतिको उनको प्रतिबद्धता प्रेरणादायी रहेको र आगामी दिनमा पनि उनले सोही समर्पणका साथ राष्ट्रको सेवा गरिरहने विश्वास क्यानले व्यक्त गरेको छ।

    यसअघि सोमबार क्यानले नेदरल्यान्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग-२ मा टोलीको कमजोर प्रदर्शनपछि कप्तान फेर्ने निर्णय गरेको थियो। क्यानले रोहितको ठाउँमा लेगस्पिनर सन्दीप लामिछानेलाई नेपाली एकदिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। लामिछाने चार वर्षपछि पुनः टोलीको नेतृत्वमा फर्किएका हुन्। २०७९ सालमा नाबालिग बलात्कारको आरोप लागेपछि उनलाई कप्तान र राष्ट्रिय टोलीबाट निलम्बन गरिएको थियो। अदालतबाट सफाइ पाएपछि टोलीमा फर्किएका उनलाई क्यानले पुनः कप्तानीको जिम्मेवारी सुम्पेको हो।

    नयाँ कप्तान सन्दीपको नेतृत्वमा क्यानले भदौ १४ देखि २७ (अगस्ट ३० देखि सेप्टेम्बर १२) सम्म मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि टोलीको समेत घोषणा गरिसकेको छ। घोषित टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण २६, मंगलवार ०६:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP