अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादनसमेत प्रभावित बनेको छ।
विशेष गरी कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा रहेका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। साथै, कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा फल्ट आउँदा सो करिडोरमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ। बाढीकै कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी र मोदीसहितका प्रमुख जलविद्युत् आयोजनाहरूको उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
यस बाहेक २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनाहरूमा समेत क्षति पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार क्षतिको प्रारम्भिक विवरण संकलन गर्ने, प्रभावित क्षेत्रको पहिचान गर्ने र वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन गर्ने कार्य भइरहेको छ। प्राधिकरणले सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति सुचारु गराएको छ भने क्षतिग्रस्त संरचना मर्मतका लागि प्राविधिक टोलीहरू परिचालन गरिसकेको छ।
भारी वर्षा, बाढीपहिरो र अवरुद्ध सडकका कारण केही प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भए पनि सडक खुल्ने बित्तिकै मर्मत कार्यलाई तीव्र बनाइने श्रेष्ठले बताए। प्राकृतिक विपद्को यस अवस्थामा विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको जनाउँदै, ढलेका पोल तथा चुँडिएका विद्युतीय तार नजिक नजानी संयमता अपनाउन उपभोक्तालाई आग्रह गरिएको छ।
प्रतिक्रिया