काठमाडौँ। सरकारले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछिको खोजी तथा उद्धार कार्य हालका लागि स्थगित गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१ औँ बैठकले अत्यावश्यक बाहेकका खोजी तथा उद्धार कार्यलाई रोक्ने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनको सिफारिसका आधारमा यो निर्णय लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकले उद्धार चरण समाप्त भएसँगै प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको छ। यसका लागि विभिन्न मन्त्रालय तथा निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका निम्ति कुल ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ। साथै, लागत अनुमान आउन बाँकी र प्राथमिकीकरण हुन नसकेका थप आयोजनाहरूको विवरण प्राप्त हुनासाथ बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा पठाउन प्राधिकरणलाई निर्देशन दिइएको छ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त समन्वयमा उद्धार कार्य सम्भव भएको र अब पुनर्निर्माणका कामहरू पनि सोही समन्वयका साथ अघि बढाइने बताउनुभयो। बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेका साथै बाग्मती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पुनर्निर्माण अभियानमा सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता जनाउनुभएको छ।
प्रतिक्रिया