काठमाडौँ — नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत उद्यमी तथा केन्द्रीय सदस्य विनोद चौधरीले समावेशी समूहबाट उपसभापति पदमा मनोनयन पत्र दर्ता गराएका छन्। यसअघि उनी पार्टीको केन्द्रीय सदस्य रहेका थिए।
नयाँ केन्द्रीय कार्यसमितिका लागि मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताको प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो। निर्वाचन समितिले मंगलबार दिउँसो १२:३० बजेदेखि अपराह्न ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय तोकेको छ।
महाधिवेशनमा देशभरिबाट आएका ७ हजार ११४ जना प्रतिनिधिले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछन्।
राष्ट्रिय सभागृहमा उम्मेदवारी फारम वितरण र दर्ताको काम तीव्र रूपमा भइरहेको छ। विभिन्न पदका आकांक्षी नेताहरू र महाधिवेशन प्रतिनिधिहरूको बाक्लो उपस्थितिका कारण राष्ट्रिय सभागृह परिसरमा निकै चहलपहल र उत्साह बढेको छ।
प्रतिक्रिया