काठमाडौँ, २७ कात्तिक — नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीलाई तीव्र पारेको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने उक्त भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि र विभिन्न तहका संगठनका गरी कुल ३ हजार १६४ जनाको सहभागिता रहने भएको छ।
भेलाको तयारीलाई अन्तिम रूप दिन आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिहरूको अवस्था, व्यवस्थापन र कार्यक्रम सञ्चालनबारे विस्तृत समीक्षा गरिएको थियो। बैठकमा सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरूको उपस्थिति थियो भने विभिन्न प्रदेशका फोकल पर्सनहरूले आ–आफ्नो प्रदेशको तयारीबारे रिपोर्टिङ गरेका थिए।
बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव शंकर पोखरेलले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए। पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा परिचालन गर्ने लक्ष्य राखिएको उनले उल्लेख गरे।
संगठन विभाग प्रमुख ढकालले भेलालाई सफल बनाउन विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरी समन्वयात्मक रूपमा काम भइरहेको बताए। उनका अनुसार कार्यक्रमस्थलमा सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनका कामहरूलाई तीव्रता दिइएको छ। ढकालले प्रस्तुत गरेको विवरणअनुसार भेलामा १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि, ३४६ जना केन्द्रीय सदस्य, ३४२ जना स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष र १९६ जना प्रमुख तथा अध्यक्ष सहभागी हुनेछन्। त्यसैगरी, प्रदेशसभाका १५५ जना, जनसंगठनका ९६ जना, केन्द्रीय निकायका ८१ जना, प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका ५५ जना र संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना प्रतिनिधिको सहभागिता रहनेछ।
दुई दिनसम्म चल्ने उक्त भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यातायात व्यवस्थापनलाई सहज बनाउन पार्टीले सहभागी नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गरी कार्यक्रमस्थलमा आउन आग्रह गरेको छ। एमालेले यस भेलालाई संगठनात्मक एकता सुदृढ गर्ने, साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।
प्रतिक्रिया