मिति: मंसिर १, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा सुशासन कायम गराएरै यस वर्ष सरकारले राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गरिछाड्ने बताएका छन्। राष्ट्रिय कर दिवसका अवसरमा सम्बोधन गर्दै उनले गत वर्ष १२ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए।
गत वर्षको तुलनामा करिब २७ प्रतिशतले राजस्व वृद्धि गर्ने लक्ष्य राखिएको र यो केही महत्त्वकांक्षी देखिए पनि ‘बोल्ड रिफर्म’ तथा सुशासनको प्रतिफलस्वरूप हासिल गरिने अर्थमन्त्री वाग्लेको भनाइ छ। कोभिड–१९ महामारीपछि नेपालमा राजस्व संकलनको औसत वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेको र यसले मात्र अपेक्षित लक्ष्य पूरा नहुने भएकाले यसपटक फड्को मार्ने गरी उच्च लक्ष्य निर्धारण गरिएको उनले स्पष्ट पारे।
राजस्व संकलनको गतिलाई अझ तीव्र बनाउन आफू स्वयं पनि प्रणालीलाई सक्रिय पार्न मैदानमा उत्रिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
त्यस्तै, निजी क्षेत्रका सुझाव, गुनासा र समस्याहरू सुन्न सरकार सधैँ तयार रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता (Predictability) हुनुपर्नेमा जोड दिएका छन्। करजस्तो संवेदनशील विषयमा हरेक हप्ता नीतिगत परिवर्तन गरिरहन नहुने बताउँदै उनले आवश्यक ठाउँमा सुधार गर्ने तर निजी क्षेत्रलाई स्थिर नीतिगत वातावरण दिनुपर्ने औँल्याए। राजस्व लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य तथा समन्वय अपरिहार्य रहेको उनको भनाइ छ।
प्रतिक्रिया