• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • औद्योगिक विकासका लागि निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन आवश्यक: एफएनसीसीआई अध्यक्ष अञ्जन श्रेष्ठ

    औद्योगिक विकासका लागि निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन आवश्यक: एफएनसीसीआई अध्यक्ष अञ्जन श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे।

    अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा नक्कली तथा गुणस्तरहीन पार्टपुर्जा र ब्याट्रीको आयात बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। राजस्व संकलनका नाममा नेपाललाई गुणस्तरहीन वस्तुको डम्पिङ साइट बनाउन नहुने उल्लेख गर्दै उनले भन्सार, यातायात व्यवस्था विभाग लगायतका सरकारी निकायले यसको कडा निगरानी गर्नुपर्ने बताए।

    रोजगारीको सन्दर्भमा बोल्दै उनले मुलुकको कुल रोजगारीमा निजी क्षेत्रको हिस्सा ८६ प्रतिशत रहेको स्मरण गराए। वार्षिक ५ देखि ६ लाख युवा श्रम बजारमा आउने गरे पनि सरकारले सीमित संख्यामा मात्र रोजगारी दिन सकेको अवस्थामा निजी क्षेत्रले नै ठूलो जिम्मेवारी धानेको उनको भनाइ थियो। युवा पलायन रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न निजी क्षेत्रको लगानीलाई प्राथमिकता दिनुका साथै आयात निर्भरता घटाउन एसेम्ब्लिङ र कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए।

    नेपाल हाल ७० प्रतिशत वस्तु आयातमा निर्भर रहेको र ३० प्रतिशत मात्र आन्तरिक उत्पादन हुने गरेको तथ्य प्रस्तुत गर्दै श्रेष्ठले सरकार आफैँ उद्योग सञ्चालनमा लाग्नुभन्दा निजी क्षेत्रलाई प्रतिस्पर्धी वातावरण दिनुपर्ने स्पष्ट पारे। हेटौँडा कपडा उद्योग जस्ता बन्द सरकारी उद्योग पुनः सञ्चालन गर्ने सरकारको प्रयास स्वागतयोग्य भए पनि वर्षौँदेखि बन्द र समस्याग्रस्त रहेका निजी क्षेत्रका रुग्ण उद्योगहरूको पुनरुत्थानमा समेत सरकारले समान रूपमा सहजीकरण गर्नुपर्ने उनको माग थियो।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण २६, मंगलवार ०६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP