काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश अधिवेशन आगामी राष्ट्रिय महाधिवेशन अगाडि नहुने निश्चित भएको छ। पार्टीभित्रको आन्तरिक विवाद, निर्वाचित सांसदहरूको दबाब र जातीय संकीर्णताका कारण स्थगित भएको यो अधिवेशन महाधिवेशन अगाडि हुने सम्भावना नरहेको निर्वाचन आयोगले जनाएको छ।
अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत बनाउन आवश्यक देखिएको भन्दै आयोगले गत जेठ २६ गते नै मधेस प्रदेशका सम्पूर्ण संगठनात्मक गतिविधि स्थगित गर्ने सूचना जारी गरेको थियो। मधेस प्रदेशका ८ जिल्लामध्ये विवाद र दुई पक्षीय झडपका कारण पर्सा बाहेक अन्य ७ जिल्लाको अधिवेशन यसअघि नै रोकिइसकेको थियो।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राष्ट्रिय महाधिवेशनको मिति नजिकिसकेकाले तत्काल मधेसमा अधिवेशन गराउन समय अभाव छ।
“विधि, प्रक्रिया र पद्धति अनुसार मधेसमा काम गर्न त्यति सजिलो छैन। शान्तिपूर्ण र सुरक्षित रूपमा अधिवेशन गराउन अहिले अप्ठ्यारो छ। त्यसैले महाधिवेशन अगाडि मधेस प्रदेशको अधिवेशन सम्भव छैन। बरु महाधिवेशनपछि विशेष समिति बनाएर अधिवेशन गर्नु उपयुक्त हुन्छ,” केसीले रातोपाटीसँग भने।
अर्कोतर्फ, महाधिवेशन अगावै कसरी हुन्छ अधिवेशन सम्पन्न गराउन पार्टी नेतृत्व र निर्वाचन आयोगसँग छलफल भइरहेको मधेस प्रदेशका महामन्त्री मनिषकुमार साहले बताएका छन्।
साहले भने, “सदस्यता नवीकरण र नेतृत्वको विवाद लगायतका त्रुटिहरू सच्याउन हामी तयार छौँ। महाधिवेशन अगाडि नै अधिवेशन गरौँ भनेर आयोग र पार्टी नेतृत्वसँग संवाद भइरहेको छ, तर आयोगबाट अहिलेसम्म कुनै नयाँ निर्णय आएको छैन।” स्थापनाकालदेखि पार्टी निर्माणमा लागेका निर्वाचित सांसदहरूले केही चासो वा हस्तक्षेप राख्नु स्वाभाविक भएको उनको तर्क छ।
तर, जिल्ला तहका नेताहरूले भने पार्टीका केन्द्रीय प्रवक्ता मनिष झा, प्रदेश सभापति तपेश्वर यादव र समानुपातिक सांसद पुरुषोत्तम यादव लगायतका नेताहरूको व्यक्तिगत स्वार्थका कारण अधिवेशन स्थगित हुन पुगेको आरोप लगाएका छन्।
विवाद र चुनौतीका बिच रास्वपाले अन्य प्रदेशहरूमा भने अधिवेशन प्रक्रिया अगाडि बढाएको छ:
बागमती, कोशी र गण्डकी प्रदेश: नयाँ नेतृत्व चयन भइसकेको छ।
लुम्बिनी प्रदेश: पहिलो चरणमा कसैले पनि बहुमत (५०+१ प्रतिशत) ल्याउन नसकेपछि अन्ततः सर्वसम्मत रूपमा नेतृत्व छानिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेश: कर्णालीमा आइतबार र सुदूरपश्चिममा सोमबार (भोलि) अधिवेशन हुँदैछ।
असारमा प्रथम महाधिवेशन पार्टी स्थापनाको चार वर्ष पूरा भएको अवसरमा रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
निर्वाचन आयोगका अनुसार उक्त महाधिवेशनमा २५ सय देखि ३ हजारसम्म प्रतिनिधिहरू सहभागी हुनेछन्। गत फागुनको तथ्यांक अनुसार पार्टीमा करिब ३ लाख सदस्य रहेकोमा जेठ मसान्तसम्म आइपुग्दा यो संख्या बढेर झन्डै ६ लाख पुगेको आयोगले जनाएको छ।
प्रतिक्रिया