• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • शिवकुमार मण्डलले छाडे जनार्दनको साथ, लागे प्रचण्डतर्फ

    शिवकुमार मण्डलले छाडे जनार्दनको साथ, लागे प्रचण्डतर्फ

    पूर्वमन्त्री शिवकुमार मण्डलले ‘प्रगतिशील राष्ट्रिय अभियान’ घोषणा गरेका तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको साथ छाडेका छन्।

    आफ्नो दल माओवादी केन्द्र ११ कम्युनिस्ट घटकसँग एकीकृत हुँदै नेपाली कम्युनिस्ट पार्टीमा सामेल भएपछि नेता मण्डल यसका स‌ंयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ लागेका हुन्।

    यसअघि नेकपा माओवादी केन्द्र हुँदा उनी जनार्दनका पक्षमा थिए। तर जनार्दनले पार्टी एकताप्रति असहत हुँदै ‘प्रगतिशील राष्ट्रिय अभियान’ घोषणा गरेपछि मण्डल नवगठित नेपाली कम्युनिस्ट पार्टीमा सामेल हुने भएका हुन्।

    पार्टीभित्र लामो समयदेखि चलिरहेको आन्तरिक विवाद र बहसपछि परिवर्तित राजनीतिक परिस्थितिअनुसार सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता महसुस गरी नयाँ पार्टीमा सहभागी हुने उनले बताएका छन्।

    ‘अहिलेको परिस्थितिमा आन्तरिक लडाइँभन्दा पनि पार्टी एकताको पक्षमा उभिनैपर्छ’, उनले नेपालखबरसँग भने, जनार्दन दाइका विचारहरू जायज छन्, तर अहिलेको अवस्थाले सबैलाई एउटै मोर्चामा ल्याएको छ।’

    तत्कालीन पार्टीका विराटनगर महानगर समितिसहित प्रदेशका जनार्दन शर्मा धारका अधिकांश सदस्य नेपाली कम्युनिस्ट पार्टीमा जाने दाबी मण्डलले गरे।

    ‘हामीले अघि उठाएका पार्टी सुधारका विषयहरू भोलिका दिनमा पनि निरन्तर रहने छन्, तर अहिलेको राष्ट्रिय परिस्थितिमा पार्टी एकताको पक्षमा उभिनु जरुरी छ’, उनले भने।

    उनको यो निर्णयसँगै काेसी प्रदेशमा माओवादी केन्द्रभित्रको जनार्दन समूह थप कमजोर हुने भएको छ।

    शर्मा मन्त्री रहेका बेला सचिवालयका सदस्य रहेका हर्क नेम्बाङ ‘मिक्सो’ माओवादी केन्द्रका कोसी प्रदेश अध्यक्ष थिए।

    प्रदेशसभाका संसदीय दलका नेता इन्द्र आङ्बो पनि जनार्दननिकट नेता थिए।

    शर्मालाई पूर्वमन्त्रीहरू सुदन किराँती र शिवकुमार मण्डलले सशक्त साथ दिइरहेका थिए।

    तर अब किराँतीबाहेक ती सबै नेता नेपाली कम्युनिस्ट पार्टीमा जाने भएका हुन्।

    हर्क नेम्बाङ ‘मिक्सो’ले पनि आफू ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमै लाग्ने बताएका छन्।

    लामो समयदेखि जनार्दन पक्षमा रहेका उनले नेपालखबरसँग भने, `म त यतै (प्रचण्ड पक्षमै) हो। अहिले फुट्ने बेला होइन, सबैले एउटै लाइनमा रहेर पार्टी बलियो बनाउनुपर्छ।’

    अहिले जनार्दन पक्षमा खुलेर लाग्ने ठूला नेता कोसीमा लगभग नरहेको दाबी पनि उनले गरे।

    ‘पूर्वतिर सुदन (किराँती) मात्रै देखिन्छन्। शिवकुमार मण्डलको टुंगो अझै लागेको छैन, उहाँ बिचमै हुनुहुन्छ’, उनले भने।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत ११ वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो। जसमा प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बनेका छन्। उक्त पार्टीले दर्ता हुन निर्वाचन आयोगमा निवेदन दिइसकेको छ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २७, बिहीबार ०७:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP