जिल्ला प्रशासन कार्यालय पर्साले दुई समुदायबिच तनाव बढेपछि मंगलबार साँझ ६ बजे सम्म कर्फ्यु जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्मका लगाइएको लागि वीरगन्ज महानगरपालिकाको संवेदनशील क्षेत्रमा कर्फ्यु जारी भएको हो ।
यसअघि बिहान ८ बजेसम्म जारी भएको कर्फ्यु १ बजेसम्म लगाइएकोमा अहिले फेरि कर्फ्यु थप भएको हो ।
महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।
वीरगन्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी भएको कर्फ्यु आदेशमा उल्लेख छ । प्रशासनले तोकिएको सिमानाभित्र आदेशको उल्लंघन गरे जोकोहीलाई नियन्त्रणमा लिई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
धनुषामा मस्जिद तोडफोड गरिएको विरोधमा वीरगन्ज तनावग्रस्त बनेको छ । वीरगन्जमा आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए । त्यसको प्रतिवादीमा हिन्दुवादी संगठनहरूले सोमबार बिहानैदेखि प्रदर्शन जारी राखेका थिए । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडपसमेत भएको छ ।
धनुषाको धनुकमला नगरपालिका– ६, सखुवा मरानमा दुई फरक समुदायबिच भएको विवादपछि त्यहीँको मस्जिदमा एक समूहले प्रवेश गरी तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
प्रतिक्रिया