काठमाडौँ। पाकिस्तान सरकारले आफ्नो रक्षा बजेटमा भारी वृद्धि गर्ने तयारी गरेको छ। संसद्मा प्रस्तुत बजेट मस्यौदाअनुसार पाकिस्तानले सैन्य खर्च १८ प्रतिशतले बढाएर ३ हजार अर्ब रुपैयाँ पुर्याउन लागेको हो।
पाकिस्तानका अर्थमन्त्री मोहम्मद औरंगजेबले क्षेत्रीय असुरक्षा र बदलिँदो परिस्थितिका कारण रक्षा बजेट बढाउनु परेको संसद्मा बताउनुभएको छ। रक्षा विश्लेषकहरूका अनुसार छिमेकी मुलुक भारतसँगको सीमा तनाव र सैन्य प्रविधिको आधुनिकीकरण नै पाकिस्तानको यो कदमको मुख्य कारण हो। गत वर्ष भारतले चलाएको ‘अपरेसन सिन्दूर’ पछि दक्षिण एसियाको भू-राजनीति थप तातिएको छ।
यसका साथै, अफगानिस्तानसँगको पश्चिमी सीमा क्षेत्रमा बढेको उग्रवादी आक्रमण र तनावले पनि पाकिस्तानलाई सैन्य खर्च बढाउन बाध्य पारेको हो। यद्यपि, आर्थिक संकट र अन्तर्राष्ट्रिय मुद्रा कोषको दबाबका बीच रक्षा बजेट बढाउँदा पाकिस्तानको आन्तरिक विकास निर्माणका काम प्रभावित हुन सक्ने अर्थशास्त्रीहरूले अनुमान गरेका छन्। आगामी जुलाई १ देखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि यसै महिनाको अन्त्यसम्ममा यो प्रस्ताव पारित गर्ने पाकिस्तान सरकारको तयारी छ।
प्रतिक्रिया