• २०८३ जेष्ठ १२ | Tue, 26 May 2026

  • दक्षिण भारतीय सुपरस्टार विजय बने तमिलनाडुको मुख्यमन्त्री

    दक्षिण भारतीय सुपरस्टार विजय बने तमिलनाडुको मुख्यमन्त्री

    दक्षिण भारतीय सुपरस्टार विजय बने तमिलनाडुको मुख्यमन्त्री

    चेन्नई । दक्षिण भारतीय चलचित्र उद्योग (कोलीवुड) का प्रभावशाली अभिनेता जोसेफ विजय चन्द्रशेखर, जो ‘थलापति विजय’ का रूपमा विश्वभर प्रख्यात छन्, तमिलनाडुको मुख्यमन्त्री बनेका छन्। उनले आज एक भव्य समारोहका बीच तमिलनाडुको नयाँ मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

    विजयको नेतृत्वमा रहेको ‘तमिलगा वेत्री कजगम’ (टीभीके) पार्टीले हालै सम्पन्न विधानसभा निर्वाचनमा सानदार प्रदर्शन गरेपछि उनले राज्यको बागडोर सम्हाल्ने अवसर पाएका हुन्।

    राहुल गान्धीको उपस्थिति र शपथ समारोह

    शपथ ग्रहण समारोहमा भारतीय राजनीतिमा विपक्षी दलका नेता एवं भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीको विशेष उपस्थिति रहेको थियो। मुख्यमन्त्री विजयसँगै उनको मन्त्रिपरिषद्‌मा नौ जना मन्त्रीहरूले पनि शपथ लिएका छन्।

    नयाँ मन्त्रिपरिषद्‌मा एन. आनन्द, आधव अर्जुन, डा. के.जी. अरुणराज, के.ए. सेनगोट्टैयन, पी. वेंकटरमणन, आर. निर्मलकुमार, राजमोहन, डा. टी.के. प्रभु र सेल्वी एस. किर्तना सामेल छन्। नियुक्त भएका सबै मन्त्रीहरू विजयकै पार्टी टीभीकेका विधायक हुन्। हालसम्मको मन्त्रिपरिषद्‌मा सत्ता साझेदार अन्य दलका सदस्यहरूलाई भने समेटिएको छैन।

    पहिलो प्रयासमै ठूलो सफलता

    राजनीतिमा प्रवेश गरेको मात्र दुई वर्ष भएको विजयको पार्टी टीभीकेले आफ्नो पहिलो चुनावी प्रतिस्पर्धामा ऐतिहासिक सफलता हासिल गरेको छ। तमिलनाडुको २३४ सदस्यीय विधानसभामा १०८ सिट जित्दै टीभीके सबैभन्दा ठूलो दल बनेको छ।

    तमिलनाडुमा सरकार बनाउन बहुमतका लागि ११८ सिट आवश्यक पर्दछ। १०८ सिट जितेको टीभीकेले कंग्रेस, सीपीआई, सीपीएम, भीसीके र आईयूएमएल जस्ता दलहरूसँग गठबन्धन गरी कुल १२१ विधायकको समर्थन जुटाएर सरकार गठन गरेको हो।

    चलचित्रको पर्दामा तहल्का मच्चाएका ‘थलापति’ विजयको राजनीतिक यात्राले तमिलनाडु र समग्र भारतीय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। उनले जनअपेक्षा अनुसार सुशासन र राज्यको विकासमा कस्तो भूमिका खेल्नेछन् भन्ने विषयमा अहिले चौतर्फी चर्चा सुरु भएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख २७, आईतवार ०८:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP