काठमाडौँ — भेनेजुएलाको राजधानी काराकासमा गएको विनाशकारी भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित भेनेजुएला सरकार र त्यहाँका नागरिकप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको हो।
नेपाली समयअनुसार बिहीबार बिहान करिब ४ बजे काराकासलाई केन्द्रविन्दु बनाएर ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त भूकम्पका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति हुनुका साथै थुप्रै भौतिक संरचनाहरू ध्वस्त भएका छन्। यद्यपि, विनाशको पूर्ण विवरण र मृतकको यकिन सङ्ख्या आउन अझै बाँकी छ।
विपद्को यस घडीमा नेपाल सरकारले भुकम्पमा परी ज्यान गुमाउनेहरूका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ:
“यस दुःखद घडीमा हामी शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै भेनेजुएला सरकार र त्यहाँका जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ। साथै, बेपत्ता भएकाहरूको चाँडो उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।”
प्रतिक्रिया