नेपाली सेनाको डाइरेक्टोरेट अफ मिलिट्री इन्टेलिजेन्स (डीएमआई) ले समेत दक्षिण एसियाली तीन मुलुकमा भएका उस्तै प्रकृतिको घटनालाई नजिकबाट नियालिरहेको छ ।काठमाडौँ — भारत, पाकिस्तान र बंगलादेशमा भएको बम विस्फोटका घटनापछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको छ । विस्फोटमा जोडिएका व्यक्ति नेपाल प्रवेश गर्न सक्ने भन्दै भारतीय अधिकारीले सहयोग मागेपछि सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सतर्कता बढाइएको हो ।नेपाल प्रहरीको प्रतिआतंकवाद मामिलामा काम गर्ने विशिष्टीकृत निकाय विशेष ब्युरोले भारतीय पक्षसँगको समन्वयमा काम गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘सीमा क्षेत्रबाट हुन सक्ने प्रवेशसँगै मदरसा र मस्जिदमा हुने नयाँ व्यक्तिको गतिविधिलाई नोटिसमा राखिएको छ,’ एक अधिकृतले भने, ‘विमानस्थलमा समेत अध्यागमन जाँच र स्क्रिनिङमा कडाइ गरिएको छ ।’ विगतमा यस्ता घटनामा संलग्न व्यक्ति खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेर तेस्रो मुलुक गएका थुप्रै उदाहरण रहेकाले सतर्कता अपनाइएको ती अधिकृतले बताए ।
भारतको राजधानी नयाँदिल्लीको लाल किल्लानजिक २४ कात्तिकको साँझ करिब ७ बजे भएको कार विस्फोटमा १२ जना मारिएका थिए भने कम्तीमा ३० जना घाइते भए । भारतले यसलाई पछिल्लो दशक देशको व्यस्त सहरमा भएको सबैभन्दा ठूलो आतंकवादी घटना भनेको छ । यसअघि १० वैशाखमा भारत प्रशासित कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जना मारिएका थिए ।दिल्ली विस्फोटपछि भारतीय प्रहरीले कश्मीरको पुलवामाबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
यसमा इस्लामवादी समूह जैस–ए–मोहम्मद जोडिएको भारतीय सुरक्षा अधिकारीहरूको दाबी छ । भारतीय प्रहरीले अहिले दिल्लीमा भएको विस्फोटपछि कश्मीरको पुलवामाबाट ५ जनालाई नियन्त्रणमा लिएको छ भने यसमा इस्लामवादी समूह जैश–ए–मोहम्मदसँग जोडिएको हुन सक्ने दाबी सुरक्षा अधिकारीहरुको छ । जैश–ए–मोहम्मद नेपालबाट दिल्लीका लागि २४ डिसेम्बर १९९९ मा उडेको इन्डियन एयरलाइन्सको जहाज अपहरण गरी थुनामुक्त गराइएका मसुद अजहरणले खोलेको लडाकू समूह हो । यो समूहमाथि सन् २००१ मा भारतीय संसद् र सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा संलग्न भएको आरोप छ ।देशको सुरक्षा र राजनीतिक अवस्था अत्यन्त संवेदनशील बनेका बेला गलत तत्वहरुले सहजै प्रभावित पार्न सक्ने जोखिम रहन्छ,’ प्रतिआतंकवाद मामिलाका विज्ञ नारायण अधिकारी भन्छन्, ‘यस्तोमा खुला सीमाका कारण हुन सक्ने उग्रवादी आवतजावत, प्रोक्सी प्रभाव र चरमपन्थी गतिविधिको प्रत्यक्ष जोखिम रहने भएकाले सुरक्षा संयन्त्र सचेत हुनुपर्छ ।’
प्रहरीले यही घटनामा जोडिएको आशंकामा दुई कश्मीरी चिकित्सकलाई समेत पक्राउ गरेको छ । ‘विस्फोटमा संलग्न मुख्य व्यक्ति कारभित्रै मारिएका छन्, बाँकी केही भारतमा समेत समातिएका छन्,’ नेपाल प्रहरीका एक उच्च अधिकृतले भने, ‘भारतमा अपरेसन चलिरहेका बेला त्यससँग जोडिएका बाँकी व्यक्तिहरू भागेर नेपालसम्म आउने सम्भावनालाई नकार्न सकिँदैन, त्यसैले कडाइ गरिएको हो ।’
नेपाली सेनाको डाइरेक्टोरेट अफ मिलिट्री इन्टेलिजेन्स (डीएमआई) ले समेत दक्षिण एसियाली तीन मुलुकमा भएका उस्तै प्रकृतिको घटनालाई नजिकबाट नियालिरहेको छ । ‘क्षेत्रीयस्तरमा देखा परेका घटनाले नेपाललाई कसरी प्रभाव पार्न सक्छन् भनेर हामी विश्लेषण गरिरहेकै छौं,’ एक उच्च सैनिक अधिकारीले भने, ‘आतंकवादमा संलग्नले आफ्नो प्रभाव देखाउन जुनसुकै क्षेत्रमा गतिविधि गराउन सक्ने भएकाले सचेत छौं ।’ जेन–जी आन्दोलनपछि देशको सुरक्षा अवस्था र जेलबाट समेत आतंकवादसँग जोडिएका व्यक्तिहरू भागेको अवस्थामा सतर्क हुनुपर्ने अधिकारीहरू बताउँछन् ।
सशस्त्र प्रहरी बलको ‘इन्टेलिजेन्स ब्युरो’ले पनि सीमा क्षेत्रमा जाँच बढाएको छ । ‘भारतीय पक्षसँग समेत समन्वय गरेर सुरक्षा जाँच बढाइएको छ, आपराधिक गतिविधिमा संलग्नले नेपालमा सेल्टर नलिऊन् भन्नेमा सचेत छौं,’ ब्युरोका एक अधिकारीले भने, ‘त्यसका लागि सीमामा खटिएको टोली प्रोएक्टिभ भएर खटिरहेको छ ।’
नेपाल प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई दक्षिण छिमेक वा अन्य एसियाली मुलुकमा हुने आतंकवादी घटनाबाट नेपाल अछुतो रहन नसक्ने बताउँछन् ।
पूर्वएआईजी टेकप्रसाद राई
‘हामीलाई प्रत्यक्ष प्रभाव नपरे पनि अप्रत्यक्ष रूपमा नेपाली भूमि प्रयोग भइरहेको हुन सक्छ,’ उनी भन्छन्, ‘शंकास्पद व्यक्तिहरूका गतिविधि, उनीहरू बस्ने होटललगायतमा निगरानी गर्नुपर्छ, ताकि अरू देशमा भएका घटनाका बाछिटा नेपालसम्म नआऊन् ।’
भारतमा विस्फोट भएको भोलिपल्ट पाकिस्तानको राजधानी इस्लामावादस्थित जिल्ला अदालतको भवनबाहिर १२ जनाको ज्यान जाने गरी एउटा कार छेउमा विस्फोट भएको थियो । त्यसबाट कम्तीमा २७ जना घाइते भएका थिए । त्यस आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबान (टीटीपी) ले लिएको थियो । ‘इस्लामाविरुद्ध भएका न्यायाधीश र वकिल लक्षित’ कारबाही गरिएको उसको दाबी थियो ।
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले यो हमला अफगानिस्तानमा आधारित लडाकुहरूले गराएको दाबी गरेका छन् । त्यसको भोलिपल्ट बुधबार बंगलादेशको ढाकाका दुई स्थानमा समेत विस्फोट भयो । बंगलादेशको अखबार डेली स्टारका अनुसार, मोटरसाइकलमा आएका दुई व्यक्ति बम फ्याँकेर भागेका थिए । यस घटनामा मानवीय क्षति भने भएन । प्रहरीले विस्फोटका कारण खुलाउन सकेको छैन ।
‘भारत र पाकिस्तानमा शृंखलाबद्ध रूपमा भएको विस्फोट अनि अन्यत्र पनि भएको उस्तै किमिसका घटनाका कारण यसलाई फरक ढंगले विश्लेषण गर्नुपर्ने हुन्छ,’ विशेष ब्युरोका एक अधिकारी भन्छन् । अर्का एक अधिकृतको दाबीमा, दिल्ली विस्फोटमा जोडिएका अभियुक्तले नेपाल र बंगलादेशको पनि भ्रमण गरेको जानकारी भारतीय पक्षले दिएका छन् । ‘ती सबै विषयमा जाँच भइरहेको छ,’ ती अधिकृतले भने ।
खुला सीमाका कारण भारतमा गम्भीर अपराधमा संलग्नले विगतमा पटक–पटक नेपालमा ‘सेल्टर’ लिएको उदाहरण छ । ब्युरोका अधिकृतहरूका अनुसार, सन् २००० पछि भारतमा भएको आतंकवादी हमलामा जोडिएका चार सदस्यले नेपाल आएर सुनसरीबाट नागरिकता लिएका थिए । उनीहरू २०७१ सालमा राहदानी बनाएर यूएई भागेको पाइएको थियो । त्यसबेला उनीहरूलाई सहयोग गरेको आरोप लागेका हरिनगर गाउँपालिका–५, भुटाहा बजारका खुर्सिद अन्सारी ५ असोज २०७५ मा रहस्यमय तरिकाले मारिएका थिए । उनलाई हस्तान्तरण गरिदिन भन्दै भारतले पटक–पटक नेपाली पक्षलाई आग्रह गर्दै आएको थियो । तर, पछि एकाएक भएको अन्सारीको हत्यामा संलग्नलाई प्रहरीले समात्न सकेन ।
सन् २००६ मा भएको मुम्बई विस्फोटका एक आरोपित अब्दुल कुरेसीलाई समेत प्रहरीको विशेष ब्युरोले कपिलवस्तु क्षेत्रमा पक्राउ गरेर भारतलाई बुझाएको थियो । ‘आतंकवादविरुद्ध नेपाली सुरक्षा संयन्त्र सधैं कठोर रूपमा प्रस्तुत हुँदै आएको छ, कुनै सूचना पाउनेबित्तिकै गम्भीर अनुसन्धान भएका छन्,’ ब्युरोका अधिकृत भन्छन्, ‘नेपाल भूमि प्रयोग गर्न खोज्ने थुप्रै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।’
प्रतिक्रिया