विश्वविद्यालय अनुदान आयोगले ‘एकेडेमिक क्रेडिट बैंकको स्थापना र सञ्चालन निर्देशिका २०८२’ जारी गर्दै विदेशका विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीका लागि नेपालमा ‘क्रेडिट आवर ट्रान्सफर’ गरी पढाइ निरन्तरता दिन पाउने व्यवस्था गरेको छ। योसँगै अध्ययनकै क्रममा कुनै कारणले विदेशबाट फर्किएका विद्यार्थीले नेपालकै विश्वविद्यालयमा बाँकी पढाइ अघि बढाउन सक्नेछन्।
नयाँ निर्देशिका अनुसार विद्यार्थीले जुनसुकै मुलुकका मान्यताप्राप्त विश्वविद्यालय वा उच्च शैक्षिक संस्थामा अध्ययन गरी आर्जन गरेको क्रेडिटलाई आयोगमा स्थापना हुने ‘एकेडेमिक क्रेडिट बैंक’ मा जम्मा गर्न सक्नेछन्। सोही क्रेडिटका आधारमा नेपालका विश्वविद्यालयमा स्थानान्तरण गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ। यसअघि स्पष्ट नीतिगत व्यवस्था नहुँदा अध्ययन बीचैमा छाडेर फर्कनुपर्दा विद्यार्थीहरू समस्यामा पर्दै आएका थिए।
निर्देशिकाले क्रेडिट ट्रान्सफरका लागि निश्चित मापदण्ड र सीमा तोकेको छ। जसअनुसार कम्तीमा एक सेमेस्टर वा एक वर्ष पूरा नभई क्रेडिट ट्रान्सफर हुने छैन भने अधिकतम सीमा सम्बन्धित पाठ्यक्रमको कुल ५० प्रतिशतभन्दा बढी हुने छैन। एकेडेमिक क्रेडिट बैंकमा जम्मा गरिएको क्रेडिट स्नातक (Bachelor’s) तहको हकमा अधिकतम ७ वर्ष र स्नातकोत्तर (Master’s) तहको हकमा ५ वर्षभित्र उपयोग गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
क्रेडिट स्वीकार गर्ने वा नगर्ने अन्तिम निर्णय भने सम्बन्धित विश्वविद्यालयमा नै रहनेछ। अध्ययन गरिने विषयवस्तु र पाठ्यक्रम समान भए/नभएको यकिन गरी विश्वविद्यालयको प्राज्ञिक परिषद् वा सम्बन्धित निकायले स्वीकृति दिएपछि मात्र आयोगले ट्रान्सफरको विवरण उपलब्ध गराउनेछ। यसका साथै, नेपालमा पढ्दापढ्दै वैदेशिक रोजगारी वा अन्य कारणले विदेश जानुपरेमा पनि आफ्नो क्रेडिट बैंकमा सञ्चित राखी पछि फर्किएर अध्ययन पूरा गर्न सकिने सुविधासमेत निर्देशिकाले प्रदान गरेको छ।
प्रतिक्रिया