• २०८३ कार्तिक ७ | Fri, 23 Oct 2026

  • २१ वर्षपछि कांग्रेस महाधिवेशन बाहिर देउवा: गगन थापा नेतृत्वको १५ औँ महाधिवेशनमा नजाने निश्चित

    २१ वर्षपछि कांग्रेस महाधिवेशन बाहिर देउवा: गगन थापा नेतृत्वको १५ औँ महाधिवेशनमा नजाने निश्चित

    काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा करिब २१ वर्षपछि पार्टीको महाधिवेशन प्रक्रियाबाहिर रहने भएका छन्। गगन थापाको नेतृत्वमा असोज १८ देखि २२ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको १५ औँ महाधिवेशनमा देउवा सहभागी नहुने पक्का भएको हो।

    यसअघि २०५९ सालमा पार्टी विभाजन गरी तत्कालीन नेपाली कांग्रेस (प्रजातन्त्रिक) गठन गरेका देउवा २०६२ मा सम्पन्न ११ औँ महाधिवेशनमा सहभागी थिएनन्। २०५७ को १० औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका देउवा त्यसको २१ वर्षपछि पुनः महाधिवेशनको प्रक्रियाभन्दा बाहिर पुगेका हुन्। २०६४ मा पार्टी एकीकरण भएपछि १२ औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका उनी १३ औँ र १४ औँ महाधिवेशनबाट भने सभापतिमा निर्वाचित भएका थिए।

    गत पुसमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा बोलाइएको विशेष महाधिवेशनले १४ औँ महाधिवेशनको कार्यसमिति भङ्ग गरिदिएपछि देउवा पक्ष राजनीतिक रूपमा अन्योलको अवस्थामा छ। उक्त विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको संयुक्त इजलासले वैधता दिएपछि देउवा अहिले सर्वोच्चको पूर्ण इजलासको अन्तिम फैसलाको पर्खाइमा छन्। अर्कोतर्फ, देउवा समूहले शशांक कोइरालाको संयोजकत्वमा आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा अर्कै महाधिवेशन गर्ने गरी असोज १५ गतेदेखि नै वडा अधिवेशन सुरु गरिसकेको छ। संस्थापन पक्षले असोज १८ को महाधिवेशन उद्घाटनमा देउवा आउने आशा राखे पनि उनको सचिवालयले मंसिरको महाधिवेशनलाई कारण देखाउँदै सहभागी नहुने स्पष्ट पारेको छ।

    यस महाधिवेशनमा देउवासँगै कांग्रेसमा पारिवारिक विरासत बोकेका अधिकांश शीर्ष नेताहरू पनि अनुपस्थित रहनेछन्। बीपीपुत्र शशांक कोइराला, शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला महाधिवेशनमा सहभागी नहुने भएका छन् भने विरासत बोकेका नेताहरूमध्ये गिरिजाप्रसाद कोइराकी छोरी सुजाता कोइराला मात्रै सहभागी हुनेछिन्।

    नेपाली कांग्रेसको ८० वर्ष लामो इतिहासमा १४ वटा नियमित र दुई वटा विशेष महाधिवेशनमार्फत ९ जना नेताहरू पार्टीको सर्वोच्च नेतृत्वमा पुगेका छन्। २००३ सालमा कलकत्तामा भएको प्रथम महाधिवेशनबाट टङ्कप्रसाद आचार्य (कार्यवाहक बीपी कोइराला) सभापति बनेका थिए। त्यसपछि २००४ को दोस्रो महाधिवेशनबाट बीपी कोइराला, २००५ को तेस्रो महाधिवेशनबाट मातृकाप्रसाद कोइराला (कार्यवाहक) र २००६ मा दुई पार्टी एकीकरण भएपछिको चौथो महाधिवेशनबाट मातृकाप्रसाद नै सभापति बनेका थिए।

    २००९ को पाँचौँ महाधिवेशनबाट पुनः बीपी कोइराला सभापति चुनिए पनि सरकार र पार्टीबीचको विवादले कांग्रेस फुटेको थियो। २०१२ को छैटौँ महाधिवेशनबाट सुवर्णशमशेर राणा सभापति बने भने २०१४ मा विराटनगरमा भएको प्रथम विशेष महाधिवेशन र २०१६ को सातौँ महाधिवेशनबाट बीपी कोइराला नै सभापतिमा फर्किए। पञ्चायती व्यवस्थाका कारण २८ वर्षसम्म महाधिवेशन हुन नसकेपछि २०४४ को आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापति बने।

    त्यस्तै, २०५३ को नवौँ, २०५७ को १० औँ र २०६२ को ११ औँ महाधिवेशनबाट लगातार गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित भए। पार्टी एकीकरणपछिको १२ औँ महाधिवेशनबाट सुशील कोइराला, १३ औँ र १४ औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति बनेका थिए भने २०८२ पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सर्वसम्मत रूपमा कांग्रेसको नेतृत्वमा आएका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन १७, शनिबार ०७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP