काठमाडौँ, २ मंसिर २०८३
चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकाङ्ग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच चीनको चेङ्दुमा भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई विकास र साझा समृद्धिमा केन्द्रित गर्दै व्यावहारिक सहकार्यमा रूपान्तरण गर्ने विषयमा विस्तृत छलफल भएको छ। बैठकमा विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, स्वच्छ ऊर्जा, आधुनिक कृषि, संस्कृति तथा पर्यटन लगायतका विविध क्षेत्रमा साझेदारी बढाउने विषयले प्राथमिकता पाएको छ।
छलफलका क्रममा प्रान्तीय सचिव वाङले सिचुवान प्रान्तीय पार्टी समिति र सरकारका तर्फबाट नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै प्रान्तको आर्थिक तथा सामाजिक विकासबारे जानकारी गराएका थिए। नेपाल र चीन शताब्दियौँदेखि मैत्रीपूर्ण सम्बन्ध कायम राखेका असल छिमेकी र साझेदार रहेको उल्लेख गर्दै उनले गत भदौमा रसुवाको सीमावर्ती क्षेत्रमा आएको गेग्रानसहितको बाढीले दुवै देशमा जनधनको क्षति पुर्याएको स्मरण गरे। सो विपद्का बेला चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहलाई समवेदना सन्देश पठाएको उल्लेख गर्दै वाङले दुवै देशले मिलेर कठिनाइको सामना गर्नु परम्परागत मित्रताको उत्कृष्ट उदाहरण भएको बताए।
जवाफमा रास्वपा महामन्त्री आचार्यले भदौको भोटेकोशी विपद्मा ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना प्रकट गरे। विपद्पश्चात् चीनले आफ्नै भूमिमा उद्धार र राहतको काम गरिरहँदा नेपालका प्रभावित क्षेत्रमा समेत तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएको स्मरण गर्दै उनले यो ऐक्यबद्धता नेपालले सधैँ सम्झिरहने बताए।
भ्रमणअघि रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहसँग भेट गरेको चर्चा गर्दै प्रतिनिधिमण्डलले दल तथा सरकारको नेतृत्व चीनसँगको मैत्रीपूर्ण सम्बन्धप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्त, नेपालको स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति र एकअर्काको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताप्रतिको सम्मानमा आधारित रहेको प्रतिनिधिमण्डलको भनाइ थियो। साथै, ‘एक–चीन नीति’ नेपालको दशकौँदेखिको स्थिर अडान भएको पुनः स्पष्ट पार्दै रास्वपा र वर्तमान सरकारले यस नीतिलाई निरन्तरता दिने र चीनको सार्वभौमसत्ता तथा सुरक्षाविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ।
सहकार्यका पाँच प्राथमिकता प्रस्ताव
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलले द्विपक्षीय सहकार्यका लागि पाँचवटा मुख्य प्राथमिकताका क्षेत्रहरू प्रस्ताव गरेको छ, जसलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको छ।
पहिलो प्राथमिकताका रूपमा सुरक्षित र भरपर्दो सीमापार यातायात पूर्वाधार निर्माणलाई अघि सारिएको छ। पछिल्ला विपद्हरूले बाह्रै महिना सञ्चालन हुन सक्ने सडक, सुक्खा बन्दरगाहको विस्तार तथा स्तरोन्नति र आधुनिक भन्सार प्रणालीको आवश्यकता देखाएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले हिमालपारिको व्यापार र आवागमनलाई सहज बनाउन सहकार्यको प्रस्ताव राखेको हो।
दोस्रो क्षेत्रका रूपमा पर्वतीय विज्ञान, सूचना आदानप्रदान र विपद् उत्थानशीलतालाई प्रस्ताव गरिएको छ। नेपाल र सिचुवानको पर्वतीय वातावरण तथा विपद् जोखिममा समानता रहेकाले विश्वविद्यालय, अनुसन्धान संस्था र विज्ञहरूबीच सहकार्य गर्न सकिने नेपाली पक्षको धारणा छ। मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना, सुरक्षित सडक र विपद् पूर्वतयारीमा ज्ञान आदानप्रदान गर्दा जनधनको क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गरिएको छ।
तेस्रो प्राथमिकताका रूपमा स्वच्छ ऊर्जा र हरित उद्योग प्रवर्द्धनलाई समेटिएको छ। नेपालको जलविद्युत् सम्भावनालाई सिचुवानको ऊर्जा तथा औद्योगिक अनुभवसँग जोडेर लगानी र प्रविधि हस्तान्तरण विस्तार गर्ने प्रस्ताव गरिएको छ। यसअन्तर्गत जलविद्युत्सँगै हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन र ब्याट्री उत्पादनमा साझेदारीको सम्भावनाबारे छलफल भएको छ।
चौथो क्षेत्रमा भरपर्दो हवाई सम्पर्क, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड दिइएको छ। चेङ्दुबाट काठमाडौँ, पोखरा र भैरहवातर्फ थप प्रत्यक्ष उडानको सम्भावना खोज्न आग्रह गर्दै नेपाली पक्षले चीनतर्फ नेपाली जडीबुटी, चिया, फलफूल र हस्तकलाको निर्यात बढाउन प्रशोधन, भण्डारण, गुणस्तर मापदण्ड र बजार पहुँचका लागि प्राविधिक तथा व्यावसायिक सहयोगको प्रस्ताव राखेको छ।
पाँचौँ प्राथमिकताका रूपमा युवा र डिजिटल नवप्रवर्तनमा सहकार्य गर्न नेपाली पक्षले आग्रह गरेको छ। प्रविधिमा रुचि राख्ने नेपाली युवा जनशक्ति र स्वच्छ विद्युत्लाई सिचुवानको अनुसन्धान क्षमतासँग जोडेर कृत्रिम बुद्धिमत्ता (एआई), सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टर स्थापनामा साझेदारी गर्न सकिने प्रस्ताव प्रतिनिधिमण्डलले प्रस्तुत गरेको छ।
प्रतिक्रिया