• २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026

  • ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी

    ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी

    अध्यागमन विभागले नेपाल भित्रिने विदेशी नागरिकको तथ्यांकलाई व्यवस्थित ढंगले अभिलेखन र विश्लेषण गर्न ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ।

    विभागका महानिर्देशक रामचन्द्र तिवारीले आगामी जनवरी १ देखि प्रणाली कार्यान्वयनमा ल्याइने जानकारी दिँदै यसले पर्यटकको सुरक्षा, अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

    महानिर्देशक तिवारीले विदेशी नागरिकसम्बन्धी न्यूनतम विवरण राज्यलाई थाहा हुनु अनिवार्य हुने उल्लेख गर्दै भने, ‘जसरी हरेक नेपालीको गतिविधि राज्यलाई थाहा हुनुपर्छ, त्यसरी नै नेपाल आउने विदेशीको बारेमा पनि सरकारले चासो राखेको हो। उनीहरू स्वतन्त्र छन् भन्दैमा राज्यलाई थाहा हुनुपर्दैन भन्ने होइन। राज्यले चासो नराख्नुपर्ने ठाउँमा राख्दैन, तर राख्नुपर्ने ठाउँमा राख्नैपर्छ।’ उनका अनुसार नेपाल आएका पर्यटकले अब अनिवार्य रूपमा आफ्नो ‘एकोमोडेसन’ विवरण उपलब्ध गराउनुपर्नेछ।

    तिवारीले होटल प्रवेशदेखि आवाससम्बन्धी तथ्यांक अभिलेखन अनिवार्य हुने बताउँदै थपे, ‘कोही मान्छे चुकुल लगाएर कोठामा पसिसकेपछि राज्यले उसको निजी गतिविधि हेर्न पाउँदैन, तर ‘फलानो होटलमा छिरेको थियो’ भन्ने जानकारी राज्यले राख्नै पर्छ। यही सुनिश्चितताका लागि प्रणालीको विकास गरिएको हो।’

    यस विषयमा आयोजित छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरूले पनि सकारात्मक प्रतिक्रिया जनाएका छन्। नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्सकी वरिष्ठ उपाध्यक्ष तेजश्वी तुलाधरले प्रणालीले पर्यटकको सुरक्षा र तथ्यांक व्यवस्थापनमा मद्दत गर्ने बताउँदै भनिन्, ‘मेरो बुझाइअनुसार यो ट्र्याकिङ नै हो, र यो गलत होइन। यसले टुरिस्टको पनि सेफ्टी हुन्छ र हामीलाई डेटा संकलन गर्न पनि सजिलो हुन्छ। तर पर्यटकलाई पहिले नै जानकारी नदिए यो डेटा लिन गाह्रो हुन्छ।’

    तुलाधरले अध्यागमन प्रणालीमा अझै सुधार आवश्यक रहेको उल्लेख गर्दै विदेशका विमानस्थलहरूमा जस्तै नेपालले पनि अध्यागमन मै निःशुल्क सिम वितरण गर्न सके पर्यटकको अवलोकन र सहजीकरणमा टेवा पुग्ने बताइन्। ‘दुबईसहित धेरै मुलुकले फ्रि सिम दिन्छन्। नेपालले पनि अध्यागमनबाटै यस्तो सेवा दिएको खण्डमा उनीहरूको अवस्थाबारे बुझ्न धेरै सहज हुन्छ,’ उनले भनिन्।

    यातायात क्षेत्रबाट पनि प्रणालीप्रति सकारात्मक प्रतिक्रिया आएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले प्रणालीले समग्र व्यवस्थापन सहज बनाउने भन्दै भने, ‘हामीलाई सधैं दोषीको रूपमा हेरिन्छ, कारण म्यानेजमेन्ट सिस्टम राम्रो छैन। सार्वजनिक यातायात अझै पूर्ण रूपमा व्यवस्थित हुन सकेको छैन, तर सुधारमा हामी लागि रहेका छौँ। अध्यागमनले ल्याउन लागेको यो प्रणाली राम्रो छ, तर होटल, एयरलाइन्सलगायतका क्षेत्रसँग समन्वय अझै आवश्यक छ।’

    उता, होटल व्यवसायीहरू भने तत्कालै लागू गर्ने तयारी भन्दा सम्भावित चुनौती देखिरहेका छन्। होटल एशोसिएशन नेपालका महासचिव साजन शाक्यले जनवरी १ देखि लागू गर्ने निर्णय व्यावहारिक नभएको बताउँदै भने, ‘स्टार होटलमा यो कार्यान्वयन अलिक सहज होला, तर अन्य क्षेत्रमा अझै तयारी पुगिसकेको छैन। केही होमवर्क गरेपछि आर्थिक वर्षको श्रावण १ गतेदेखि लागू गर्दा उपयुक्त हुन्छ।’

    अध्यागमन विभागका अनुसार यही प्रणाली २०७२ पुस १७ गतेबाट उपत्यकाका तारे होटलमा पहिलो चरणमा लागू हुनेछ भने २०७२ फागुन १७ बाट देशभरका होटल, एयरलाइन्स, होमस्टे, ट्रेकिङ कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जर लगायत सबै सेवाप्रदायक संस्थामा अनिवार्य रूपमा लागू गरिनेछ। विभागले यो प्रणालीले नेपालको पर्यटन व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउने दाबी गरेको छ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर १८, बिहीबार ०६:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP