• २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026

  • पाठेघरको मुखको क्यान्सरविरुद्ध बालिकालाई खोप दिन सुरु

    पाठेघरको मुखको क्यान्सरविरुद्ध बालिकालाई खोप दिन सुरु

    देशभरका साढे तीन लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप दिन थालिएको छ । आइतबारदेखि सुरु खोप अभियान १५ फागुनसम्म चल्नेछ । कक्षा ६ मा अध्ययनरत सबै र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका तथा गत वर्ष खोप दिन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका ११ देखि १४ वर्षका कुल तीन लाख ५० हजार पाँच सय बालिकालाई खोप लगाउन थालिएको हो ।

    अमेरिकासहित १९४ देशमा प्रयोग भइरहेको यो खोप नेपालमा गत वर्षदेखि लगाउन सुरु गरिएको थियो । गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ६८८ बालिकालाई एचपिभी खोप लगाइएको थियो । सबैभन्दा पहिले अमेरिकाबाटै सुरु भएको यो खोप पाठेघरको क्यान्सरको रोकथामका लागि प्रभावकारी मानिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । एचपिभी खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नै सुरक्षित घोषणा गरिसकेको छ ।

    स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले अधिकांश जिल्लामा आइतबारदेखि खोप अभियान सुरु भएको जानकारी दिए । ‘हामीले गत वर्ष मात्रै पूर्ण खोप सुनिश्चित गरेका थियौँ । यो खोप हरेक वर्ष सुनिश्चित हुनुपर्छ र हरेक वर्ष १० वर्षका कक्षा ६ मा अध्ययनरत किशोरी नै लक्षित समूह हुन्छन्,’ उनले भने, ‘एचपिभी खोप नियमित खोप कार्यक्रमभित्रै राखिएको छ । हरेक वर्ष फागुनको पहिलो सातादेखि यो खोप वितरण हुने भए पनि यसपटक निर्वाचन भएका कारण छिटो सुरु गरिएको हो ।’ हिमाली जिल्लामा भने मौसम प्रतिकूलताका कारण चैतमा मात्रै खोप कार्यक्रम सञ्चालन गरिने पनि गौतमले बताए । उनका अनुसार अधिकांश जिल्लामा पुगिसकेको खोपलाई आवश्यक तापक्रम दिएर सुरक्षित भण्डारण गरिएको छ ।

    खोप कार्यक्रम विद्यालय, स्थानीय स्वास्थ्य चौकी, वडालगायतमा भइरहेको छ । विद्यालय पहुँचबाहिर रहेका बालिकालाई समेट्न बालबालिका बढी भएको क्षेत्रमै पुगेरसमेत खोप दिइँदै छ । खोप वितरणका लागि देशभर १५ हजारभन्दा बढी स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् । पहिलो दिन आइतबार २० हजारभन्दा बढी बालिकाले खोप लिएका छन् । अधिकांश जिल्लाले आइतबारदेखि नै खोप वितरण सुरु गरे पनि केहीले आफ्नो समयतालिका बनाएर वितरण गर्दै छन् ।
    चिकित्सकहरूका अनुसार एचपिभी खोप पूर्ण सुरक्षित छ । खोप लिएकालाई अन्य कुनै पनि असर गर्दैन । विकसित देशहरूमा सन् २००६ देखि यो खोप सुरु भए पनि नेपालले गत वर्षदेखि मात्रै नियमित खोप कार्यक्रममा राखेको हो । तर, शंका र हल्लाको पछि लागेर कतिपयले गत वर्ष खोप नलगाएको हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले छुटेकालाई यसपटक सहभागी हुन अनुरोध गरेको छ ।

    भविष्यमा नेपालमा पनि पाठेघरको मुखको क्यान्सर हुनेको संख्या बढ्ने जोखिम देखिएकाले रोकथामका लागि एउटा उमेर तह तोकेर खोप कार्यक्रम गर्न लागिएको हो । यो खोप शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा सक्रिय नहुँदैको अवस्थामा दिँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरिएको छ । भविष्यमा पाठेघरको मुखको क्यान्सर नहोस् भनेर यो खोप लगाउने हो ।

    ‘यो खोप सबैभन्दा बढी सुरक्षित छ, बालिकाहरूको शरीर सेक्सुअल गतिविधिमा एक्टिभ नहुँदैको अवस्थामा बढी प्रभावकारी मानिने भएकाले सोही उमेर समूह छनोट गरेर यो खोप लगाइन्छ,’ डा. गौतमले भने, ‘यसमा शंका मान्नुपर्ने कारण छैन ।’ उनका अनुसार यही खोप निजी अस्पतालमा किनेर लगाउँदा ६–७ हजार पर्छ । तर, सरकारले सर्वसाधारणको सहजताका लागि आफैँ खरिद गरेर वितरण गरेको हो ।

    महिलामा सबैभन्दा बढी स्तन क्यान्सर हुन्छ भने पाठेघरको क्यान्सर हुने दर दोस्रो नम्बरमा छ । खोप शाखाले लक्षित समूहका कोही पनि बालिका नछुटून् भनेर प्रचारप्रसार अभियानसमेत थालेको छ । एचपिभी खोपको एउटा मात्रा मात्रै लगाइन्छ । स्वास्थ्य मन्त्रालयले भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा झन्डै १८ करोड चार लाख मूल्यमा लक्षित बालिकाका लागि खोपको डोज ल्याएको छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक दुई हजार १६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने पाठेघरको मुखको क्यान्सरकै कारण वार्षिक एक हजार ३१३ जनाले ज्यान गुमाउँछन् ।

    खोप अभियानका लागि देशभर १५ हजारभन्दा बढी स्वास्थ्य स्वयंसेविका परिचालित छन् । पहिलो दिन २० हजारहाराहारी बालिकाले खोप लगाएका छन् ।

    पाठेघरको मुखको क्यान्सरले बर्सेनि नेपालमा १,३१३ जनाले गुमाउँछन् ज्यान
    स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण वार्षिक एक हजार ३१३ जनाले ज्यान गुमाउँछन् । यो आधारमा दैनिक चार महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको छ । त्यस्तै, विभागका अनुसार वार्षिक दुई हजार १६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यही डरलाग्दो तथ्यांकलाई न्यूनीकरण गर्न सरकारले खोप अभियान चलाउन लागेको हो ।

    विश्वमा हरेक वर्ष पाँच लाख ७५ हजारभन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यो तथ्यांक आगामी सन् २०३० सम्ममा बढेर सात लाख पुग्ने चेतावनी संगठनको छ । संगठनकै तथ्यांकअनुसार हरेक वर्ष पाठेघरको क्यान्सरका कारण विश्वमा तीन लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ माघ २६, सोमबार ०८:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP