अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा कार्यरत २० ठूला बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ नेपाली तथा विदेशी साझेदारहरूसँग छलफल गर्ने भएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे यो छलफल आयोजना गरिएको हो।
छलफलमा अर्थमन्त्री वाग्लेले नयाँ बजेटले बहुराष्ट्रिय कम्पनीहरूलाई दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या, लगानी विस्तार, रोजगारी सिर्जना र नाफा (प्रतिफल) फिर्ता लैजाने प्रक्रियामा सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा विचार-विमर्श गर्नेछन्। साथै, उनले ती कम्पनीहरूलाई आफ्ना समस्या तथा सुझावहरू खुलस्त रूपमा राख्न र लिखित विवरणसमेत पेश गर्न आग्रह गर्नेछन्।
बजेट कार्यान्वयनको यस छलफल शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले यसअघि नै ३३ ठूला औद्योगिक घराना, ‘क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (CEO) हरू र नेपाल राष्ट्र बैङ्का कार्यकारी निर्देशकहरूसँग संवाद गरिसकेका छन्।
प्रतिक्रिया