• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • राष्ट्रियसभामा कांग्रेस–एमालेसँगको भागबन्डामा सहभागी भएन नेकपा

    राष्ट्रियसभामा कांग्रेस–एमालेसँगको भागबन्डामा सहभागी भएन नेकपा

    पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धन गर्ने सम्भावना कमजोर बनेको छ।

    राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमालेसँग गठबन्धनको सहमति नभएपछि नेकपाले आगामी फागनु २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा पनि यी दुई दलसँग गठबन्धन गर्ने सम्भावना कमजोर बनेको हो।

    कतिपयले नव गठित रास्वपासहितका नयाँ दलको दबाबको कारण पुनारा तीन दलले आगामी निर्वाचनमा गठबन्धन गर्ने अनुमान गर्दै आएका छन्।

    तर, राष्ट्रियसभा निर्वाचनमा एमाले र कांग्रेससँग गठबन्धन नभएसँगै अब त्यो सम्भावना टरेको नेकपाका संयोजक प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए।

    राष्ट्रियसभामा कांग्रेस–एमालेसँग गठबन्धनको सहमति नभएपछि नेकपाले एक्लै चुनाव लड्ने तयारी गरेको छ।

    राष्ट्रिसभाका रिक्त हुन लागेका १८ वटै सिटमा एकल उम्मेदवारी दिनेगरि सातवटै प्रदेशमा नेकपाले आफ्नो तर्फबाट उम्मेदवार टुंग्याएको छ।

    कांग्रेस, एमाले र जसपा नेपालले भने राष्ट्रिसभाका १८ सिटमा गठबन्धन गरेर निर्वाचन लड्नेगरि भागबन्डा गरेका छन्।

    नेकपाले कांग्रेस र एमालेसँग चुनाव हुन लागेका १८ मध्ये चार सिटमा दाबी गरेको थियो। तर, कांग्रेस र एमाले नेकपालाई तीन सिटभन्दा बढी दिन नसकिने बताएपछि नेकपा यो गठबन्धनबाट बाहिरिएको हो।

    तीन दलबीच कांग्रेसलाई ९, एमालेलाई ८ र जसपालाई १ सिटमा भागबण्डा भइसकेको छ। सोही अनुसार आज उनीहरूले १८ सिटमै उम्मेदवारी दर्ता गर्दैछन्।

    मतभारअनुसार सैद्धान्तिक रुपमा सिट बाँडफाँड गर्न कांग्रेस र एमाले तयार नभएपछि नेकपाले एक्लै उम्मेदवारी दिने निर्णय गरेको आचार्यले बताए।

    ‘मतभारअनुसार सैद्धान्तिक रुपमा सँगै बसेर सिट बाँडफाँड टुंग्याउने भन्दा पनि कांग्रेस र एमालेले ‘हामी त मिलिसक्यौँ। आउँछौँ भने तिमीहरूलाई पनि तीन सिट दिन्छौँ भन्ने जस्तो व्यवहार गरे,’ आचार्यले भने, ‘यसबाट कांग्रेस–एमालेले हाम्रो पुरानै गठबन्ध कायम छ भन्ने सन्देश दिएका छन्। जसलेको कारण उनीहरूसँग सहमतिको सम्भावना टर्‍यो।’

    नयाँ आधारमा कांग्रेस–एमालेसँग गठबन्धनको सम्भावना नदेखेपछि नेकपाले प्रतिपक्षमा बस्ने निर्णय गरेको उनले बताए।

    आचार्यका अनुसार हिजो कांग्रेस नेता रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमाले मिलिसकेको भन्दै नेकपालाई तीन ३ सिट लिएर गठबन्धनमा आउन प्रस्ताव गरेका थिए। तर, त्यो प्रस्तावलाई संयोजक प्रचण्डले अस्वीकार गरेको उनले बताए।

    ‘यसले कांग्रेस–एमाले पुरानै ढंगले जान खोजेको प्रस्ट सन्देश दिएको छ। प्रतिनिधिसभाको निर्वाचनमा पनि उनीहरू गठबन्धन गरेरै जान्छन् भन्ने देखिन्छ,’ आचार्यले भने, ‘उनीहरूबीचको गठबन्धनले यसअघि पनि समस्या निम्त्यायो। फेरि पनि उनीहरूसँग मिल्दा ठिक सन्देश जाँदैन भनेर पनि नेकपा उनीहरूसँगको गठबन्धनबाट बाहिरिएको हो।’

    यसले आगामी प्रतिनिधसभा निर्वाचनमा नयाँ दलसँग नेकपाको गठबन्धन हुने सम्भावना बढेको पनि आचार्यले बताए।

    ‘यसले अबको निर्वाचनमा रास्वपासहितका दलसँग गठबन्धनको सम्भावना बढेर गएको छ,’ उनले भने, ‘अप्रत्यक्ष रुपमा आहिले पनि त्यो छलफल चलिरहेको छ। रास्वपासहितका नयाँ शक्तिहरूसँग मिल्नुस् भन्ने दबाब पनि नेकपामाथि छ। अब त्यो दबाब झन् बढ्ने छ।’



    radiomirmire radiomirmire    
  • २०८२ पुष २३, बुधबार ०८:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP