काठमाडौँ — नेपालको कडा विरोधका बाबजुद भारत र चीनले नेपाली भूमि लिपुलेक नाका हुँदै द्विपक्षीय सीमा व्यापार पुनः सुरु गरेका छन्। ६ वर्षको लामो प्रतीक्षापछि उत्तराखण्डको पिथौरागढ जिल्लास्थित लिपुलेख दर्रा भएर भारत-चीन सीमा व्यापार औपचारिक रूपमा सञ्चालनमा आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
व्यापार पुनः सञ्चालनको पहिलो चरणअन्तर्गत शनिबार भारतीय व्यापारीहरूको एक टोली चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ताक्लाकोट मण्डी पुगेको छ। दुवै देशका सम्बन्धित निकायबाट आवश्यक सम्पूर्ण प्रक्रिया र औपचारिकता पूरा गरेपछि सीमा व्यापार आधिकारिक रूपमा सुरु गरिएको हो।
धार्चुलाका उपविभागीय मजिस्ट्रेट (एसडिएम) आशिष जोशीका अनुसार इन्डो-तिब्बती व्यापार संघका अध्यक्ष जीवन सिंह रौक्लीको नेतृत्वमा १६ जना दर्तावाला व्यापारी र ४ जना सहयोगी गरी २० सदस्यीय टोलीले गुन्जीस्थित अध्यागमन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेको थियो। उक्त टोलीले नाबिधाङमा रात बिताएपछि शनिबार बिहान लिपुलेख दर्रातर्फ प्रस्थान गरेको थियो।
शनिबार बिहान १०:१५ बजे चिनियाँ अधिकारीहरूले लिपुलेख नाकामा प्रशासनिक औपचारिकता पूरा गरी भारतीय व्यापारीहरूलाई तिब्बत प्रवेशको अनुमति दिएका थिए। व्यापारीको टोली ताक्लाकोट मण्डीतर्फ लागेसँगै सन् २०२६ को सीमा व्यापार सिजनको औपचारिक सुरुआत भएको छ।
उपविभागीय मजिस्ट्रेट जोशीले अन्य दर्ता भएका व्यापारीहरूलाई पनि पठाउन चिनियाँ अधिकारीहरूसँग इमेलमार्फत निरन्तर समन्वय भइरहेको र अनुमति प्राप्त हुनासाथ बाँकी समूहहरूलाई पनि चरणबद्ध रूपमा ताक्लाकोट पठाइने जानकारी दिनुभएको छ।
नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर पूर्वमा रहेको लिपुलेक पास नेपालको सार्वभौम भूभाग हो। यसअघि २०८२ भदौ ३ गते चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा नेपालको सहमतिविना नै लिपुलेक नाका प्रयोग गरी सीमा व्यापार गर्ने द्विपक्षीय समझदारी भएको थियो। नेपालले आफ्ना भूभाग प्रयोगबारे दुवै छिमेकी मुलुकको उक्त कदमप्रति तत्कालै गम्भीर आपत्ति जनाएको थियो।
प्रतिक्रिया