• २०८३ कार्तिक ८ | Sat, 24 Oct 2026

  • प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता, राहत सहयोगप्रति आभार व्यक्त

    प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता, राहत सहयोगप्रति आभार व्यक्त

    काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच द्विपक्षीय हित तथा सहयोगका विषयमा छलफल भएको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षबीच औपचारिक भेटवार्ता भएको हो।

    भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरोपछि अस्ट्रेलिया सरकारले दर्शाएको मित्रता, ऐक्यबद्धता र राहत सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभयो। बाढी-पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै उहाँले सरकारले उपलब्ध सम्पूर्ण स्रोतसाधन खोज, उद्धार र पुनःस्थापनामा परिचालन गरिरहेको जानकारी गराउनुभयो।

    विपद्लगत्तै अस्ट्रेलियाले पठाएको १७ सदस्यीय विपद् प्रतिकार्य टोली, विशेषज्ञ ड्रोन अपरेटर र राहत सामग्रीको प्रशंसा गर्दै प्रधानमन्त्रीले ११ मिलियन अस्ट्रेलियन डलरको सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको बताउनुभयो। साथै, बाढीमा बेपत्ता भएका अस्ट्रेलियन नागरिकको खोजीलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको उहाँले स्पष्ट पार्नुभयो।

    सो अवसरमा राजदूत अर्न्स्टले प्राकृतिक विपद्बाट नेपालले व्यहोरेको क्षतिप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो। उहाँले हालै संयुक्त राष्ट्रसंघको मञ्चमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गर्नुभयो।

    प्रधानमन्त्री शाहले यसअघि भारत र अमेरिकालगायत विभिन्न मुलुकका राजदूतहरूसँग पनि कूटनीतिक भेटवार्ता गर्नुभएको थियो।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन १५, बिहीबार ०८:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP