• २०८३ मंसिर ८ | Mon, 23 Nov 2026

  • पाँचवर्षे कार्यकाल पूरा भएसँगै कोसी प्रदेश प्रमुखविहीन

    पाँचवर्षे कार्यकाल पूरा भएसँगै कोसी प्रदेश प्रमुखविहीन

    विराटनगर, कात्तिक २८:पर्शुराम खापुङको पाँचवर्षे कार्यकाल पूरा भएपछि कोसी प्रदेश प्रमुखविहीन बनेको छ। तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा २०७८ कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त हुनुभएका खापुङको कार्यकाल कात्तिक २४ गते नै समाप्त भएको हो।

    कार्यकाल समाप्त भएको चार दिन बितिसक्दासमेत सरकारले अहिलेसम्म न वैकल्पिक व्यवस्था गरेको छ न त नयाँ प्रदेश प्रमुख नियुक्ति प्रक्रिया नै अघि बढाएको छ। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाले नयाँ प्रदेश प्रमुख तोकिएकोबारे अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी प्राप्त नभएको जानकारी दिएकी छिन्।

    प्रदेश प्रमुख रिक्त रहँदा प्रशासनिक तथा संवैधानिक कामकारबाही प्रभावित हुन सक्ने भन्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसले प्रदेशका कामकारबाहीमा बाधा पुग्ने बताएका छन्।

    नेपालको संविधानको धारा १६५ को उपधारा (२) अनुसार कुनै पनि प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रमुखलाई नै कार्यभार सम्हाल्ने जिम्मेवारी दिन सक्ने संवैधानिक व्यवस्था छ। यस्तो जिम्मेवारी पाएका व्यक्तिले सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई शपथ ग्रहण गराउने, प्रदेशसभाको अधिवेशन आह्वान वा अन्त्य गर्ने तथा विधेयक प्रमाणीकरण गर्नेलगायतका संवैधानिक कार्यहरू गर्न सक्नेछन्।

    त्यसैगरी, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १६३ बमोजिम योग्यता पुगेको व्यक्तिलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्ने प्रावधान छ। यद्यपि, संविधानले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि कुनै पनि निश्चित समयसीमा भने तोकेको छैन। त्यसैले, नयाँ नियुक्ति नभएसम्मका लागि अर्को प्रदेशको प्रमुखलाई कामकाजको जिम्मेवारी तोकेर संवैधानिक शून्यता हटाउन सकिने बाटो खुला रहेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक २९, शनिबार ०८:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP