काठमाडौँ । केरुङ-रसुवागढी सीमा क्षेत्रमा आएको विनाशकारी बाढी-पहिरोका कारण नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गहिरो दुःख व्यक्त गरेका छन्।
राजदूत माओमिङले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन, प्रभावित क्षेत्रका नागरिक तथा नेपाल सरकारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। संकटको यस घडीमा चीन सधैँ नेपाल र नेपाली जनताको साथमा दृढताका साथ उभिने उनले स्पष्ट पारेका छन्।
आफ्नो तर्फ पनि व्यापक क्षति पुगेको भए तापनि चीनले नेपालका लागि तत्काल आपत्कालीन राहत सामग्री र नगद सहयोगको समन्वय गरिसकेको राजदूत माओमिङले जानकारी दिए। साथै, आगामी दिनहरूमा पनि थप सहायता उपलब्ध गराउन चीन प्रतिबद्ध रहेको उनले बताएका छन्।
आपसी एकता र हातेमालोमार्फत यो कठिन परिस्थितिलाई पार गर्दै प्रभावित क्षेत्रको पुनः निर्माण तथा पुनर्स्थापना गर्न सकिने विश्वास चिनियाँ दूतावासले व्यक्त गरेको छ।
प्रतिक्रिया