• २०८३ बैशाख ८ | Tue, 21 Apr 2026

  • मधेश र गण्डकीका उद्योगको क्षमता उपयोगमा पनि गिरावट

    मधेश र गण्डकीका उद्योगको क्षमता उपयोगमा पनि गिरावट

    मधेश प्रदेशका उद्योगहरूको क्षमता उपयोग औसतमा ३.५९ प्रतिशत विन्दुले घटेको छ । गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोग पनि ०.०३ प्रतिशत विन्दुले घटेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । बिहीबार सार्वजनिक छुट्टा–छुट्टै प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले उक्त दुई प्रदेशका उद्योगको क्षमता उपयोग घटेको देखाएको हो ।

    बागमती प्रदेशका उद्योगको पनि औसत क्षमता उपयोग ५.६ प्रतिशत विन्दुले घटेर ३८.७ प्रतिशतमा सीमित भएको प्रतिवेदन राष्ट्र बैंकले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

    अहिले गण्डकी र मधेश प्रदेशमा पनि सोही अवस्था रहेको देखिएको हो । मधेश प्रदेशमा पनि उद्योगको संख्या धेरै छ । अघिल्लो आव ०८०/८१ मा त्यहाँका उद्योगको क्षमता उपयोग ४९.७६ प्रतिशत थियो । गत आव ०८१/८२ मा भने उद्योगहरूको क्षमता उपयोग औसत ४६.१७ प्रतिशत देखिएको छ ।

    समीक्षा वर्षमा मधेशका मदिरा उद्योगले सबैभन्दा बढी अर्थात् ९९.५५ प्रतिशत क्षमता उपयोग गरेका छन् । वनस्पति घिउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम ०.६३ प्रतिशत रहेको देखिन्छ । गत आवमा वनस्पति घिउ तथा तेल उद्योग १७.१ प्रतिशत, अन्न तथा पशु दानामा ९०.८१ प्रतिशत, अन्य खाद्य पदार्थ ४६.०७ प्रतिशत, पेय पदार्थ ८९.३६ प्रतिशत, सुर्तीजन्य वस्तु ७७.६३ प्रतिशत, लत्ताकपडा ५९.३५ प्रतिशत र छाला र छालाको समान उद्योग ७.३५ प्रतिशत क्षमतामा सञ्चालन भएका छन् ।

    गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोगमा सामान्य गिरावट
    गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोगमा भने सामान्य गिरावट देखिएको छ । अघिल्लो आव ०८०/८१ मा गण्डकीका उद्योगको औसत क्षमता उपयोग ३९.२२ प्रतिशत थियो । गत आवमा भने त्योभन्दा ०.०३ प्रतिशत विन्दु कम अर्थात् औसत ३९.१९ प्रतिशत क्षमतामा सञ्चालन भएका छन् ।

    गण्डकीमा धेरै क्षमता उपयोग गर्नेमा बिस्कुट अग्रस्थानमा देखिएका छन् । गत आवमा बिस्कुट उद्योगले ६५.३१ प्रतिशत क्षमता उपयोग गरेका छन्, जुन अन्य उद्योगको तुलनामा सबैभन्दा बढी हो ।

    तथ्यांकअनुसार बियरको ६४.६० प्रतिशत, लिक्विड औषधिको ६०.२३ प्रतिशत, चुरोटको ५४.८५ प्रतिशत, तोरीको तेलको ५०.९९ प्रतिशत, चकलेटको ४५.२९ प्रतिशत, सिमेन्ट उद्योगको ४४.५४ प्रतिशत क्षमता उपयोग भएको देखिन्छ । माग बढेको अवस्थामा उद्योगहरूको क्षमता उपयोग पनि बढ्ने बताइएको छ । गत आवमा उद्योगको क्षमता उपयोग घट्नु नै माग नहुनु मुख्य कारण भएको बताइएको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २८, शुक्रबार ०७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP