• २०८३ बैशाख ८ | Tue, 21 Apr 2026

  • गृहमन्त्री गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी: ‘जेनजी आन्दोलन’ हाइज्याक गरेको आरोप

    गृहमन्त्री गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी: ‘जेनजी आन्दोलन’ हाइज्याक गरेको आरोप

    गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाउँदै ‘जेनजी मुभमेन्ट’ले उनीविरुद्ध प्रहरीमा निवेदन दर्ता गराएको छ। मंगलबार मुभमेन्टका प्रवक्ता विजय शाहले प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै गृहमन्त्रीलाई तत्काल नियन्त्रणमा लिएर निष्पक्ष छानबिन अघि बढाउन माग गरेका हुन्।

    मुभमेन्टले गृहमन्त्रीलाई पक्राउ गर्नुपर्ने मुख्य तीन आधार पेश गरेको छ:

    १. स्वार्थको द्वन्द्व (Conflict of Interest): निवेदनमा भनिएको छ, “आफूमाथि गम्भीर आरोप लाग्दा पदमै बहाल रहेर अनुसन्धान हुनु ‘कन्फ्लेक्ट अफ इन्टेरेस्ट’ हो।” गृहमन्त्रीकै मातहतमा रहने प्रहरीले उनीमाथि निष्पक्ष छानबिन गर्न नसक्ने र यसले प्रचलित कानुनी सिद्धान्तको बर्खिलाप हुने दाबी गरिएको छ।

    २. प्रमाण नष्ट हुने खतरा: मुलुकी फौजदारी संहिताको हवाला दिँदै मुभमेन्टले गृहमन्त्री पदमा रहँदा ‘इभिडेन्स ट्याम्परिङ’ (प्रमाण नष्ट गर्ने) र ‘अब्सट्रक्सन अफ जस्टिस’ (न्यायमा अवरोध) हुन सक्ने जिकिर गरेको छ। निष्पक्ष अनुसन्धानका लागि उनलाई पक्राउ गरी हिरासतमा राख्नुपर्ने माग प्रवक्ता शाहको छ।

    ३. आन्दोलनको दुरुपयोग र हिंसा: जेनजी मुभमेन्टले गृहमन्त्री गुरुङमाथि सबैभन्दा गम्भीर राजनीतिक आरोप लगाएको छ। पानी वितरणको बहानामा स्वयंसेवकका रूपमा छिरेर गुरुङले समग्र आन्दोलनलाई ‘हाइज्याक’ गरेको र यसलाई नियतवश हिंसात्मक बनाएको उनीहरूको ठहर छ। सोही आन्दोलनको बलमा बिचौलिया र दलालहरूसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरेको र सहिदहरूको अपमान गरेको समेत निवेदनमा उल्लेख छ।

    कारबाहीको माग: नेपाल प्रहरी ऐन, २०१८ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ। मुभमेन्टले यस निवेदनको बोधार्थ प्रधानमन्त्री कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत पठाएको छ।

    ७६ जना सहिदको बलिदानबाट उठेको आन्दोलनलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको भन्दै मुभमेन्टले गृहमन्त्रीमाथि कडा कारबाही र अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख ८, मंगलवार ०९:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP