• २०८३ जेष्ठ ११ | Mon, 25 May 2026

  • बन्द उद्योग सञ्चालन र समाजवाद उन्मुख कार्यक्रममा सांसद मातृका यादवको जोड; यातायातको सिन्डिकेट अन्त्य गर्न माग

    बन्द उद्योग सञ्चालन र समाजवाद उन्मुख कार्यक्रममा सांसद मातृका यादवको जोड; यातायातको सिन्डिकेट अन्त्य गर्न माग

    काठमाडौँ — नेकपाका सांसद मातृका यादवले सरकारको नीति तथा कार्यक्रमले संविधानको मर्म अनुसार समाजवादको बाटो समाउनुपर्ने सुझाव दिनुभएको छ। प्रतिनिधि सभामा जारी आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले हालको कार्यक्रमले त्यस लक्ष्यलाई पर्याप्त रूपमा समेट्न नसकेको टिप्पणी गर्नुभयो।

    छलफलका क्रममा सांसद यादवले देशको अर्थतन्त्र सुदृढ गर्न र हजारौँ युवालाई स्वदेशमै रोजगारी प्रदान गर्न बन्द अवस्थामा रहेका राष्ट्रिय उद्योगहरू पुनः सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिनुभयो। उहाँले जनकपुर चुरोट कारखाना, गोरखाकाली टायर उद्योग, हेटौँडा कपडा उद्योग, विराटनगर जुटमिल, वीरगन्ज चिनी उद्योग र बुटवल धागो उद्योग जस्ता ऐतिहासिक उद्योगहरूलाई ब्युँताउन सरकारले ठोस योजना ल्याउनुपर्ने बताउनुभयो।

    लगानीको वातावरणका विषयमा बोल्दै यादवले विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सरलता र सुलभ वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो। साथै, स्वदेशकै लगानीकर्ताहरूसँग निरन्तर संवाद र छलफल गरी उनीहरूको सुरक्षा र लगानीको सुनिश्चितता गर्न पनि उहाँले आग्रह गर्नुभयो।

    सार्वजनिक यातायात क्षेत्रको बेथितिप्रति कडा आपत्ति जनाउँदै सांसद यादवले अझै पनि यस क्षेत्रमा संरचनागत सिन्डिकेट कायम रहेको दाबी गर्नुभयो। सञ्चालकहरूको मनपरीका कारण यात्रुहरू असुरक्षित र पीडित भइरहेको भन्दै उहाँले यातायात क्षेत्रमा खुला प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न सरकारसँग माग गर्नुभयो।

    मधेसका समस्यालाई सम्बोधन गर्दै उहाँले भूमिगत जलको सतह घट्दै गएकाले इनार र चापाकल सुक्न थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो। यसले मधेसमा भयावह अवस्था निम्त्याउन सक्ने भन्दै उहाँले ‘ग्राउण्ड वाटर रिचार्ज’का विशेष कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभयो। यसका साथै कमला नदीको निर्माणाधीन पुल र हुलाकी राजमार्गका भत्किएका पुलहरूको तत्काल निर्माण सम्पन्न गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयो।

    किसानहरूले भोगिरहेको समस्याबारे बोल्दै यादवले निलगाई र बाँदर नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न माग गर्नुभयो। सरकार सधैँ उत्पीडित र उपेक्षित वर्गको सेवक बनेर काम गर्नुपर्नेमा उहाँको विशेष जोड थियो।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख ३१, बिहीबार ०८:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP