मुस्ताङ, ७ जेठ । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर र दक्षिण जोड्ने महत्वपूर्ण जोमसोम-कागबेनी खण्डको स्तरोन्नति कार्य सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिब सात करोड रुपैयाँको लागतमा यो नौ किलोमिटर सडकखण्डको सुधार कार्य अघि बढाएको हो ।
यो सडकखण्ड विसं २०७६ अघि नै निर्माण सम्पन्न भइसकेको भए तापनि गत वर्षको साउन महिनामा आएको बाढी, वर्षा र पहिरोका कारण सडकका विभिन्न संरचनामा आंशिक क्षति पुगेको थियो । कतिपय स्थानमा सडक भासिएको तथा आवश्यक ड्रेन र सडक पर्खालजस्ता संरक्षणमुखी पूर्वाधारहरू तयार नहुँदा कालोपत्रे सडक बिग्रिएपछि आयोजनाले यसको पुनर्निर्माण थालेको हो । कोरला नाका र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथलाई जोड्ने यो सडकलाई दीर्घकालीन र टिकाउ बनाउन कालिमाता-थापाकाजी-रसुवा जेभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता भई काम अघि बढिसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको वैशाखमा ठेक्का सम्झौता भए लगत्तै जेठको पहिलो हप्तादेखि कागबेनी क्षेत्रबाट सडक स्तरोन्नतिको काम सुरु गरिएको निर्माण कम्पनीका स्थलगत इन्चार्ज सिताराम थापाले बताउनुभयो । चार महिनाको सम्झौता अवधि रहेको यो आयोजना आगामी भदौ १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने दायित्व कम्पनीको छ ।
यस स्तरोन्नति अन्तर्गत ९ किलोमिटर दुरीभित्र एक हजार ८०० घनमिटर ग्याभिन वाल, तीन हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट र ९०० घनमिटर आरसिसी ढलान गरिनेछ । विशेष गरी जोमसोमबाट माथि एक किलोमिटरको दूरीमा वर्षाले सडक भासिएकाले त्यहाँ संरक्षणका लागि ग्याभिन वाल लगाइनेछ भने पाण्डाखोला पुलको उत्तरतर्फ पुलसँगै जोडिने गरी आरसिसी ढलान गरिनेछ । साथै, सडकको ड्रेन र पर्खाल नभएका स्थानहरूमा नयाँ नाली निर्माण र मेसिनरी पर्खाल लगाएर सडकलाई सुरक्षित बनाइनेछ ।
प्रतिक्रिया