काठमाडौँ — नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतकी इन्डो-प्यासिफिक र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर सुधार र प्राविधिक शिक्षाको दायरा विस्तारमा आफ्नो देशले पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेपाल-ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इण्ड्रस्ट्रिजद्वारा राजधानीमा आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक उच्चस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीचको ऐतिहासिक र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन शिक्षा क्षेत्र नै मुख्य प्राथमिकतामा रहने स्पष्ट पारिन्। सो क्रममा उनले बेलायत सरकारले नेपालको मानवीय पुँजी विकासका लागि लगानी बढाउने योजनासमेत सार्वजनिक गरिन्।
मन्त्री मल्होत्राले शिक्षामा सबैको पहुँच विस्तार र रोजगारी सिर्जनालाई विशेष महत्त्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तरसम्बन्धलाई बलियो रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याइन्। बेलायतको प्रमुख अभीष्ट नै शैक्षिक विकास भएको उल्लेख गर्दै उनले शिक्षामार्फत युवाहरूलाई अवसर सिर्जना गर्न आफूहरूले निरन्तर गृहकार्य गरिरहेको जानकारी दिइन्। नेपालमा सञ्चालित बेलायती सम्बन्धनप्राप्त कलेजहरू र उच्च शिक्षाका लागि बेलायत पुगेका नेपाली विद्यार्थीका माध्यमबाट दुई देशको शैक्षिक सहकार्य र जनस्तरको सम्बन्ध पहिले नै झल्किसकेको भन्दै उनले नेपालको नयाँ सरकारका प्राथमिकताका आधारमा अन्य विविध शैक्षिक क्षेत्रमा पनि साझेदारी बढाउन बेलायत सधैँ तत्पर रहेको बताइन्।
आफ्नो भ्रमणका क्रममा मन्त्री मल्होत्राले नेपालको राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग सघन भेटवार्तासमेत गरेकी छन्। उनले अर्थमन्त्री डा. स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी हुन्। नेपालका लागि बेलायतका राजदूत रब फेनले यी उच्चस्तरीय भेटवार्ताहरूमा दिगो लगानीका बहुआयामिक क्षेत्रहरू र द्विपक्षीय हितका विविध विषयमा गहन विमर्श भएको जानकारी दिए। बेलायत सरकारले आफ्नो दीर्घकालीन साझेदारीको सोचअन्तर्गत आधिकारिक विकास सहायता अर्थात् ओडीए मार्फत नेपालको अन्तर्राष्ट्रिय विकास र पूर्वाधारमा समर्थन गरिरहेको समेत उनले स्पष्ट पारे।
उक्त छलफल कार्यक्रममा नेपाली सरोकारवालाहरूले पनि नेपालको शैक्षिक रूपान्तरणका लागि बेलायती सहयोगको अपेक्षा राखेका थिए। शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले विविधता, समतामूलक समावेशीता, प्राविधिक शिक्षा र असल शासनजस्ता महत्त्वपूर्ण सवालमा नेपाल सरकारले वैदेशिक सहकार्य खोजिरहेको उल्लेख गरे। त्यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पूर्वसदस्यसचिव डा. रामहरि लामिछानेले नेपालमा ‘सेक्टर स्किल काउन्सिल’ को स्थापना, बेलायतको जस्तै गुणस्तर मापन प्रणालीको विकास र अनुसन्धानमूलक उच्च शिक्षामा बेलायती सहयोग अपरिहार्य भएको धारणा राखे।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका महासचिव डा. उद्धव खड्काले उच्च शिक्षा अध्ययनका लागि नेपालबाट गत आर्थिक वर्षमा मात्रै २३ हजार विद्यार्थी बेलायत गएको तथ्याङ्क प्रस्तुत गर्दै यो सम्बन्धलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टकी प्रबन्ध निर्देशक आभा शाह र जेम्स कलेजका प्रिन्सिपल जेडी भट्ट लगायतले नेपाल र बेलायतबीचको शैक्षिक सहकार्यलाई थप व्यावहारिक, व्यावसायिक र समयसापेक्ष बनाउनका लागि विभिन्न रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए।
प्रतिक्रिया