काठमाडौँ, कात्तिक २० गते। पर्यटक भिसामा नेपाल आएर अध्यागमन कानुनको उल्लंघन गरेका १० जना विदेशी नागरिकलाई प्रहरीले नेपालबाट निष्काशन गरेको छ। निष्काशित हुनेहरूमा संयुक्त राज्य अमेरिकाका ५ जना, ब्राजिलका २ जना र क्यानडाका ३ जना नागरिक रहेका छन्। यसमा एक जना नाबालक समेत रहेकाले उनलाई आफ्ना आमाबुवासँगै प्रस्थान गराइने भएको छ। भिसाको उद्देश्य विपरीतका गतिविधि गरेको कसूरमा उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराउँदै आगामी तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।
मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको एक कार्यक्रममा भाग लिन उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए। पर्यटक भिसामा नेपाल प्रवेश गरेर भिसाले अनुमति दिएभन्दा बाहिरका गतिविधिमा संलग्न भएको पाइएपछि कानुन बमोजिम यो कडा कारबाही गरिएको हो।
प्रतिक्रिया