नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव नजिकै आइसकेकाले पार्टीको भित्रको विवाद मिलाउन आफू तयार रहेको बताएका छन्।
जेनजी आन्दोलनपछि पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति दिएर आराम गरिरहेका देउवाले कांग्रेस महाधिवेशनलाई लिएर विवाद सुरु भएपछि सक्रियता देखाएका हुन्। शुक्रबार बिहान कांग्रेसका २५ नेता देउवालाई भेट्न महाराजगञ्ज पुगेका थिए।
केन्द्रीय सदस्य डिला संग्रौलासहित महाराजगञ्ज पुगेका नेताहरूले नियमित महाधिवेशनमै जोड दिएका थिए। विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने बताउँदै उनीहरूले नियमित महाधिवेशन नै गराउन ध्यानाकर्षण गराएका थिए।
उनीहरूसँगको भेटमा सभापति देउवाले पार्टीभित्रको विवाद मिलाउन आफू तयार रहेको बताएको महाराजगञ्ज पुगेकी कांग्रेस नेत्री डिला संग्रौलाले बताइन्। ‘सभापतिज्यूले चुनाव आइरहेको छ, पार्टीभित्रको विवाद मिलाउन तयार छु भन्नु भएको छ,’ संग्रौलाले नेपालखबरसँग भनिन्।
उनीहरूले नियमित महाधिवेशन गर्नुपर्नेमा देउवाको ध्यानाकर्षण गराएका थिए। ‘हामीले नियमित महाधिवेशनका लागि पहल गरेका हौं भनेका छौंँ,’ संग्रौलाले भनिन्, ‘सभापतिजीले निर्वाचन आएको वेलामा एकता भएर जानुपर्छ भन्नु भएको छ।’
उनीहरूले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पनि भेटेका छन्। दुवै महामन्त्रीसँगको भेटमा पनि नियमित महाधिवेशनमै जोड दिएको संग्रौलाले बताइन्। तर, महामन्त्रीले भने आफ्नो माग पनि सम्बोधन हुनुपर्ने बताएको उनले सुनाइन्। ‘विशेष महाधिवेशनलाई पनि सम्बोधन हुनुपर्यो भन्ने महामन्त्रीको भनाइ छ,’ संग्रौलाले भनिन्।
नेत्री संग्रौलासँगै पुष्पा भुसाल, उदय शम्शेर राणा, अब्दुल सतार, आङगेलु शेर्पा, विरमान पाख्रिनलगायत २५ जना केन्द्रीय सदस्यले सभापति देउवा तथा महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका हुन्।
प्रतिक्रिया