ललितपुरको कार्यविनायक–नख्खु सडकखण्डमा बुधबार बिहान एउटा कारलाई तीव्र गतिमा रहेको ‘ह्याभी लोडेड’ मालबाहक पिकअप गाडीले ठक्कर दिएको छ। आफ्नी ५ वर्षीया छोरीलाई विद्यालय पुर्याउन निर्देश दुवाले चलाइरहेको कारलाई पिकअपले ठक्कर दिएको हो। दुर्घटनामा चालक र बालिका सुरक्षित रहे पनि कारमा भने क्षति पुगेको छ।
छोरीलाई स्कुल पुर्याउन जाँदा भएको यो दुर्घटना तथा काठमाडौँ उपत्यकाका सडकमा बढेको सवारी असुरक्षा र तीव्र गतिलाई लिएर सांसद अनुष्का श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले दुर्घटनामा परेका कार चालकका आफन्तले यसलाई ‘नियर डेथ एक्सपेरियन्स’ भनेको जानकारी दिइन्। काठमाडौँका सडकहरू ह्याभी लोडेड ट्रक र गाडीका कारण असुरक्षित बन्दै गएको र ३0 किलोमिटर प्रतिघण्टाको स्पीड लिमिट तोकिएको सडकमा पनि गाडीहरू ८0 को गतिमा गुडिरहेको उनले बताइन्। विशेष गरी बिहानको समयमा उपत्यका भित्रिने ट्रक र पिकअपका कारण यो समस्या चरम देखिएको भन्दै उनले नख्खुको दुर्घटनाबारे ट्राफिकलाई जानकारी गराउँदा ‘हामीलाई यसबारे थाहा छ’ भन्ने जवाफ पाएको संसद्मा उल्लेख गरिन्। उनले सडक दुर्घटनाको संख्या घटाउन तत्काल कडा कदम चाल्न माग गरेकी छिन्।
यता, भैँसेपाटी प्रहरीका अनुसार ठक्कर दिने गाडी ठूलो ट्रक नभई मालबाहक पिकअप ट्रक हो। ठक्कर दिने सवारीका धनीले पीडित पक्षको सम्पूर्ण उपचार खर्च र कारको क्षतिपूर्ति बेहोर्न सहमति जनाएका छन्। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीकी अर्की सांसद डा. तोसिमा कार्कीले ललितपुरको भैँसेपाटी–मगरगाउँबाट दक्षिणकाली मार्ग जाने ओरालो ढलान सडक ठाउँठाउँमा फुटेको र त्यहाँ दैनिकजसो दुर्घटना हुने गरेको भन्दै सडक मर्मत नहुँदा जनताको ज्यान जोखिममा परेको तर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन्।
प्रतिक्रिया