अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग पूर्णरूपमा ठप्प भएको छ। सडक अवरुद्ध भएर काभ्रेको मंगलटार क्षेत्रमा अलपत्र परेका सयौँ यात्रुको सुरक्षाकर्मीले स्थानीयको सहयोगमा उद्धार कार्य सुरु गरेका छन्।
शनिबार दिउँसोदेखि नै रोशी खोलाको बहाव बढेपछि सडकका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाउनुका साथै पहिरो खसेर यातायात सेवा बन्द भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार जोखिमयुक्त स्थानमा अड्किएका यात्रुहरूलाई पैदलमार्ग हुँदै सुरक्षित स्थानतर्फ लैजाने कार्य भइरहेको छ।
अहिले रोशी गाउँपालिकाको मंगलटार खण्डमा ठुलो संख्यामा बस, माइक्रोबस र निजी सवारी साधनहरू लाइनमा रोकिएका छन्। बाढी र पहिरोका कारण सडकको अवस्था निकै दयनीय बनेकाले वर्षा नरोकिएसम्म तत्काल सवारी सञ्चालन गर्न कठिन देखिएको प्रहरीले जनाएको छ। सडक डिभिजन कार्यालयले पनि मौसममा सुधार आएपछि मात्रै क्षतिग्रस्त डाइभर्सनको मर्मत र पहिरो पन्छाउने काम अघि बढाउने तयारी गरेको छ।
विगतमा २०८१ असोजको बाढीले ठुलो क्षति पुर्याएको यो राजमार्गमा अहिले सामान्य वर्षा हुँदा पनि पटक-पटक आवागमन अवरुद्ध हुँदै आएको छ। थप क्षति हुन नदिन र अलपत्र यात्रुलाई गन्तव्यसम्म पुर्याउन वैकल्पिक उपायहरूको समेत खोजी भइरहेको जानकारी दिइएको छ।
प्रतिक्रिया