काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्ने तयारी गरेसँगै भन्सार विभागले देशभरका भन्सार कार्यालयहरूलाई एक विशेष सर्कुलर पठाएको छ। जेठ १५ गते संसद्मा बजेट प्रस्तुत हुँदा करका दरहरूमा व्यापक फेरबदल हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभागले आज (जेठ १४ गते) सम्म दर्ता भइसकेका सम्पूर्ण प्रज्ञापनपत्रहरू आजै जाँचपास गरिसक्न कडा निर्देशन दिएको हो।
विभागले जारी गरेको परिपत्रअनुसार आजका लागि तोकिएको समयभित्र जाँचपास हुन नसकी बाँकी रहेका प्रज्ञापनपत्रहरूको हकमा नयाँ आउने ‘आर्थिक विधेयक, २०८३’ को परिवर्तित दररेट अनुसार नै जाँचपासको व्यवस्था मिलाउनुपर्नेछ। बजेट प्रस्तुत हुने दिन अर्थात् जेठ १५ गते भने यात्रु जाँचपासबाहेक भन्सारका अन्य नियमित सम्पूर्ण जाँचपासका कार्यहरू पूर्ण रूपमा बन्द रहने विभागले प्रस्ट पारेको छ।
यसैगरी, बजेट लगत्तै जेठ १६ गतेबाट भन्सार जाँचपास प्रक्रिया पुनः सुरु गर्दा आर्थिक विधेयक, २०८३ मार्फत गरिएका करका फेरबदलहरू आसिकुडा प्रणालीमा अनिवार्य रूपमा अद्यावधिक (अपडेट) भए/नभएको यकिन गरेर मात्र काम अघि बढाउन भनिएको छ। जेठ १४ गते वा सोभन्दा अगाडि नै मूल प्रज्ञापनपत्रमार्फत घोषणा भइसकेका तर जाँचपास हुन बाँकी रहेका सामानहरूको हकमा, यदि नयाँ व्यवस्थाले महसुल दर परिवर्तन गरेमा सोही परिवर्तित दरअनुसारको राजस्व वा छुट रकम असुली गरेर मात्र पटके प्रज्ञापनपत्रमार्फत सामान छोडिने विभागले जनाएको छ।
प्रतिक्रिया